२०८३, कार्तिक १९ गते

Nov 04 2026

‘फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता तालिम’ सम्पन्न

‘फोटोग्राफी तथा फोटो-भिडियो पत्रकारिता तालिम’ सम्पन्न

रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
रोज नेपाल
आइतवार, श्रावण १७ २०८३
  • काठमाडौं  । काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा सञ्चालन गरिएको ३० दिने ‘फोटोग्राफी तथा फोटो–भिडियो पत्रकारिता तालिम’ शनिबार सम्पन्न भएको छ।

    ३५ जना प्रशिक्षार्थी सहभागी रहेको तालिमको समापन कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यस्ता व्यावसायिक तथा प्रयोगात्मक तालिमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो। नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकार तथा फोटोपत्रकारको क्षमता अभिवृद्धिले चलचित्र निर्माण, प्रचार–प्रसार र अभिलेखीकरणमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ थियो।

    समापन समारोहकी प्रमुख अतिथि तथा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले तालिमका प्रमुख प्रशिक्षक राजभाइ सुवाल, प्रदीपराज वन्त, श्रीधर पौडेल, ओमलाल अकेला र राजन महर्जनलाई प्रशंसापत्र प्रदान गर्नुभयो। उहाँले तालिम सफलतापूर्वक पूरा गरेका ३५ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र समेत वितरण गर्नुभयो।

    उक्त अवसरमा नेपाली चलचित्र क्षेत्रका पहिलो स्टिल फोटोग्राफर मञ्जुलकुमार शाक्य तथा वरिष्ठ फिल्म पोस्टर डिजाइनर सुन्दर श्रेष्ठलाई जनही रु. ३५ हजार राशिको सम्मान पुरस्कार प्रदान गरिएको थियो।

    कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले सीपमूलक तालिमले युवालाई रोजगारी र स्वरोजगारतर्फ उन्मुख गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। काठमाडौं महानगरपालिकाले विभिन्न निकायसँग सहकार्य गरी युवाको क्षमता विकास र आत्मनिर्भरता अभिवृद्धिका लागि यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपलाई काठमाडौंका पर्यटकीय, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रवर्द्धनमा उपयोग गर्न आग्रह गर्नुभयो।

    काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिममा फोटोग्राफी, फोटो–भिडियो पत्रकारिता, क्यामेरा सञ्चालन, फोटो सम्पादन, भिजुअल स्टोरीटेलिङ, समाचार प्रस्तुति तथा चलचित्र क्षेत्रसँग सम्बन्धित व्यावहारिक विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।

    समापन कार्यक्रममा चलचित्रकर्मी, पत्रकार, फोटोपत्रकार, प्रशिक्षक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij