काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई गैरकानुनी रूपमा ट्राभल डकुमेन्ट जारी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले सोमबार सिंहदरबारस्थित मन्त्रालय परिसरबाटै भट्टराईलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार तिब्बती शरणार्थीको नाममा नियमविपरीत ट्राभल डकुमेन्ट जारी गरिएको आरोपमा उनीविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ। यही प्रकरणमा गत सोमबार उनीविरुद्ध मुद्दा दर्ता गरिएको थियो।
पक्राउपछि भट्टराईलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी सोमबार नै अदालतमा उपस्थित गराउने तयारी गरिएको जनाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सीआईबीले जनाएको छ।