काठमाडौं । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेखनीय रूपमा बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको नयाँ मूल्यसूचीअनुसार छापावाल सुनको भाउ प्रतितोला ८ हजार रुपैयाँले वृद्धि भएको हो।
नयाँ मूल्यअनुसार छापावाल सुन प्रतितोला २ लाख ९६ हजार रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन यसको मूल्य ४ हजार ४७५ रुपैयाँ प्रतितोला रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा पनि बहुमूल्य धातुको मूल्य उच्च रहेकाले त्यसको प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूको भनाइ छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार बिहीबार सुनको मूल्य प्रतिऔँस ४ हजार २६५ अमेरिकी डलर तथा चाँदीको मूल्य प्रतिऔँस ६२ अमेरिकी डलर कायम भएको छ।
