काठमाडौं । संघीय संसद्अन्तर्गत आज (शुक्रबार) तीनवटा संसदीय समितिको बैठक बस्दैछन्। बैठकहरूमा पर्यटनसम्बन्धी कानुन, मानवअधिकारको अवस्था तथा सडक निर्माणमा देखिएको अवरोधलगायतका विषयमा विस्तृत छलफल हुने कार्यसूची तय गरिएको छ।
संसद् सचिवालयका अनुसार बिहान १०ः३० बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि विषय विज्ञहरूसँग छलफल गरिनेछ। विधेयकलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुझाव संकलन गर्ने कार्यक्रम रहेको छ।
यस्तै, बिहान १० बजे बस्ने कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा र कैदीबन्दीको मानवअधिकार अवस्थाबारे अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदन प्रस्तुत गरी त्यसमाथि छलफल गरिनेछ।
त्यसैगरी, पूर्वाधार विकास समितिको बैठक पनि बिहान १० बजे बस्नेछ। बैठकमा विद्युत् वितरण लाइन तथा पोल व्यवस्थापन समयमै हुन नसक्दा सडक निर्माण आयोजनामा परेको असर र त्यसको समाधानका उपायबारे सम्बन्धित निकायसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
