२०८३, आश्विन १ गते

Sep 17 2026

संसदमा हर्कराज राईको सरकारलाई प्रश्नै–प्रश्न, लिपुलेकदेखि सहकारी पीडितसम्मका मुद्दा उठाए

संसदमा हर्कराज राईको सरकारलाई प्रश्नै–प्रश्न, लिपुलेकदेखि सहकारी पीडितसम्मका मुद्दा उठाए

रोज नेपाल
शुक्रवार, श्रावण २२ २०८३
रोज नेपाल
शुक्रवार, श्रावण २२ २०८३
  • काठमाडौं । श्रम संस्कृति पार्टीका संसदीय दलका नेता हर्कराज राईले प्रतिनिधिसभामा राष्ट्रिय सुरक्षा, सीमा, सामाजिक न्याय र जनजीविकासँग सम्बन्धित विभिन्न विषय उठाउँदै सरकारसँग स्पष्ट जवाफ र प्रभावकारी पहलको माग गरेका छन्।

    शुक्रबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै राईले लिपुलेक क्षेत्रमा भारत र चीनबीच व्यापार सञ्चालन भएको भन्ने सार्वजनिक सूचनाप्रति सरकारको धारणा माग गरे। नेपालको भूभागसँग सम्बन्धित विषयमा राज्यले समयमै जानकारी राख्नुपर्ने र संसद्लाई पनि स्पष्ट जानकारी गराउनुपर्ने उनको भनाइ थियो।

    राईले मुलुकमा ‘हिन्दु सम्राट सेना’ जस्ता नाममा निजी समूह सक्रिय भएको विषयप्रति पनि चिन्ता व्यक्त गरे। नेपाली सेनाबाहेक अन्य कुनै समूहले सेनाको नाम प्रयोग गर्दै गतिविधि गर्न नपाउने व्यवस्था कडाइका साथ लागू गर्न उनले सरकारलाई आग्रह गरे। यस्ता गतिविधिमाथि तत्काल अनुसन्धान गरी आवश्यक कारबाही गर्नुपर्ने उनको माग थियो।

    उनले मधेस क्षेत्रमा दलित समुदायमाथि अझै पनि सार्वजनिक धारामा पानी भर्न नदिने जस्ता विभेदपूर्ण व्यवहार भइरहेको उल्लेख गर्दै यस्तो अमानवीय अभ्यासको अन्त्य गर्न सरकार गम्भीर बन्नुपर्ने बताए।

    गत साउन ५ गते जानकी मन्दिर परिसरमा आफ्नो पार्टीसँग आबद्ध ‘श्रमदाता’हरूमाथि दुर्व्यवहार भएको दाबी गर्दै राईले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न माग गरे। साथै, वास्तविक सुकुमबासीलाई पहिचान गरी उनीहरूलाई शीघ्र जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने प्रक्रिया अघि बढाउन सरकारसँग आग्रह गरे।

    सहकारी पीडितहरूले लामो समयदेखि आफ्नो बचत फिर्ता नपाएको उल्लेख गर्दै उनले पीडितलाई पुनः आन्दोलनमा उत्रिनुपर्ने अवस्था नआउने गरी समाधान खोज्न सरकारलाई सुझाव दिए।

    दैनिक उपभोग्य वस्तुको आपूर्तिमा देखिएको समस्याप्रति पनि उनले सरकारको ध्यानाकर्षण गराए। पैसा तिर्दा पनि ग्यास र पेट्रोलियम पदार्थ सहज रूपमा नपाउनु चिन्ताजनक भएको भन्दै आपूर्ति प्रणालीलाई व्यवस्थित बनाउन र विकास आयोजनाका ठेक्का कार्यलाई तीव्रता दिन उनले आग्रह गरे।

    राईले सरकारले आश्वासनभन्दा परिणाममुखी काममा जोड दिनुपर्ने धारणा राख्दै विदेशमा रहेका नेपाली श्रमिकका समस्या समाधानमा दूतावासहरू थप जिम्मेवार बन्नुपर्ने बताए। उनले श्रमिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्न परराष्ट्र मन्त्रालयले आवश्यक पहल गर्नुपर्ने मागसमेत गरे।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij