२०८३, आश्विन १ गते

Sep 17 2026

राष्ट्रियता र विकासका लागि संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : शंकर पोखरेल

राष्ट्रियता र विकासका लागि संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : शंकर पोखरेल

रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
रोज नेपाल
शनिवार, श्रावण २३ २०८३
  • काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुकको राष्ट्रियता, विकास र संविधानको रक्षाका लागि लोकतन्त्रमा विश्वास गर्ने तथा संविधान पक्षधर शक्तिहरूबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

    शनिबार काठमाडौं क्षेत्र नं. ६ अन्तर्गत तारकेश्वरमा आयोजित एमाले नगर कमिटीको कार्यक्रममा बोल्दै पोखरेलले पार्टीका नेता तथा कार्यकर्तालाई जनतामाझ लोकप्रिय बन्न र उनीहरूको विश्वास जित्ने गरी काम गर्न आग्रह गरे।

    उनका अनुसार एमालेले जनतासँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले जागरण अभियान सञ्चालन गरिरहेको छ। अभियानलाई प्रभावकारी बनाउन पार्टीका विभिन्न जनसंगठनलाई समेत सक्रिय रूपमा परिचालन गरिएको उनले बताए।

    पोखरेलले बदलिँदो राजनीतिक परिवेशअनुसार पार्टीको विचार र कार्यशैलीलाई पनि समयसापेक्ष बनाउनुपर्नेमा जोड दिए। परम्परागत कम्युनिस्ट आन्दोलनको शैली मात्रै पछ्याएर वर्तमान चुनौतीको सामना गर्न नसकिने उनको भनाइ थियो।

    उनले मार्क्सवादी विचारलाई सिर्जनात्मक रूपमा प्रयोग गर्दै लोकतान्त्रिक प्रतिस्पर्धामार्फत जनताको विश्वास जित्न सक्ने नयाँ राजनीतिक संस्कार विकास गर्नुपर्ने बताए। त्यसका लागि नयाँ पुस्तालाई पार्टीको मूलधारमा जोडेर अघि बढाउनुपर्ने उनको धारणा थियो।

    एमालेले विगतमा सरकारको नेतृत्व गर्दा आर्थिक तथा सामाजिक विकासका क्षेत्रमा प्राथमिकता दिएको उल्लेख गर्दै महासचिव पोखरेलले युवालाई पर्याप्त रोजगारीका अवसर सिर्जना गर्न नसक्दा समाजमा असन्तुष्टि बढेको विषयलाई पार्टीले गम्भीर रूपमा आत्मसमीक्षा गर्नुपर्ने बताए।

    देशभित्रै युवाका लागि रोजगारी र अवसर सिर्जना गर्न नसक्नु चुनौतीका रूपमा रहेको भन्दै उनले आगामी दिनमा जनताको अपेक्षा र आवश्यकतालाई केन्द्रमा राखेर पार्टीका नीति तथा कार्यक्रम अघि बढाउनुपर्नेमा जोड दिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij