भरतपुर । जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत समस्याप्रति सरकार गम्भीर नभएको आरोप लगाउँदै अखिल क्रान्तिकारीले शनिबार भरतपुरमा विरोध प्रदर्शन गरेको छ।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले सरकारको कामको अवस्था जनाउन सांकेतिक रूपमा खाली कागज प्रदर्शन गरेका थिए। उनीहरूको भनाइमा जनताले महसुस गर्ने गरी सरकारले गर्नुपर्ने कामको सूची नै देखाउन नसक्ने अवस्था रहेको भन्दै खाली कागज देखाइएको हो।
पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएको भन्दै विद्यार्थीहरूले खाली सिलिन्डर बोकेर भरतपुर बजारमा प्रदर्शन गरे। ग्यास नपाउँदा सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘भात पकाएर खान दे’, ‘स्टन्टबाजी बन्द गर’, ‘जनताका आधारभूत आवश्यकता पूरा गर’ लगायतका नारासहित सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरूले सरकारको नेतृत्व गरिरहेका बालेन्द्र साह (बालेन)लाई जनताको वास्तविक समस्या बुझ्न आग्रह गर्दै विभिन्न नारासमेत लगाएका थिए।
ग्यास अभावका अतिरिक्त सरकारी स्वास्थ्य संस्थामा उपचारका लागि पुग्ने बिरामीले लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य गर्नुपर्ने माग पनि विद्यार्थीहरूको छ। सरकारी अस्पतालको सेवा प्रभावकारी र सहज बनाउन उनीहरूले सरकारसँग आग्रह गरेका छन्।
त्यस्तै, पासपोर्ट बनाउन तथा प्राप्त गर्न सर्वसाधारणले भोगिरहेका झन्झट र ढिलाइ अन्त्य गरी सेवा छिटो, सरल र व्यवस्थित बनाउनुपर्ने उनीहरूको माग छ।
अखिल क्रान्तिकारीले सरकार जनताको दैनिक आवश्यकतासँग जोडिएका विषय समाधान गर्नुभन्दा प्रचारमुखी गतिविधि र स्टन्टबाजीमा बढी केन्द्रित भएको आरोप लगाएको छ।
ग्यास, स्वास्थ्य सेवा र पासपोर्टलगायत अत्यावश्यक सेवामा देखिएका समस्या तत्काल सम्बोधन गराउन दबाब दिने उद्देश्यले प्रदर्शन गरिएको विद्यार्थी संगठनले जनाएको छ।
