रोज नेपाल डटकमको लागि समिक्षा थापाको रिपोर्ट
काठमाडौं / काठमाडौंको चक्रपथ क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने, उद्देश्यसहित सञ्चालन हुँदै आएको चक्रपथ सरसफाइ महाअभियान ४८८औँ हप्तामा प्रवेश गरेको छ।
अभियानअन्तर्गत शनिबार बसुनधारा क्यानभास कलेजबाट सुरु भई चक्रपथ क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। यस अभियानमा ग्रिनसिटी हस्पिटलका सञ्चालक लाेक बहादुर टन्डन अभियानका प्रमुख अभियन्ता एवं प्रायोजक, लामो समयदेखि अभियानमा सक्रिय अभियन्ताहरू, सञ्चारकर्मी, स्वास्थ्य क्षेत्रका प्रतिनिधि, विद्यार्थी, ट्राफिक प्रहरी, नगर प्रहरी तथा स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो।
आजको कार्यक्रममा क्यान्भास कलेजका विद्यार्थी, ट्राफिक प्रहरी र नगर प्रहरीका टोलीसँगै जीवन विज्ञान लगायत विभिन्न संघ–संस्थाका सहभागी भएका थिए। सहभागीहरूले सडकका वरपरका पलाप्टिकजन्य वस्तु र बर्खाको समयमा आउँने झाडी काटछट गरि सार्वजनिक स्थान तथा आसपासका क्षेत्रमा फोहोर संकलन गर्दै सरसफाइ गरेका थिए।
सरसफाइ कार्यक्रममा सहभागी अभियन्ताहरूले सफा शहर निर्माण सरकार वा कुनै एक संस्थाको मात्र जिम्मेवारी नभई प्रत्येक नागरिकको साझा दायित्व भएको बताएका थिए। अभियानमा विद्यार्थी तथा युवाको बढ्दो सहभागिताले आगामी पुस्तामा वातावरण संरक्षण र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न महत्वपूर्ण योगदान पुग्ने उनीहरूको भनाइ थियो। सरसफाइसँगै स्वास्थ्य र शिक्षामा पनि जोड अभियानलाई आगामी दिनहरुमा सरसफाइमा मात्रै सीमित नराखी स्वास्थ्य, शिक्षा र वातावरण संरक्षणलाई समेत एकीकृत गर्दै अघि बढाउने योजना रहेको आयोजकले बताएका छन ।
अभियानका क्रममा “स्वास्थ्य नभई शिक्षाको के अर्थ?” भन्ने सन्देशसहित स्वास्थ्य र शिक्षाबीचको सम्बन्धबारे समेत जनचेतना फैलाउने तयारी गरिएको छ। यसका लागि चिकित्सक,स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी तथा विभिन्न क्षेत्रका विज्ञलाई अभियानमा जोडेर स्वास्थ्य सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताइएको छ।
आयोजकका अनुसार स्वस्थ नागरिक निर्माणका लागि स्वच्छ वातावरण अपरिहार्य भएकाले सरसफाइ, स्वास्थ्य र शिक्षालाई एउटै अभियानसँग जोडेर अघि बढाउन खोजिएको हो। देशव्यापी अभियान बनाउने लक्ष्य चक्रपथ सरसफाइ महाअभियानलाई आगामी दिनमा काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न शहर तथा समुदायसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। त्यसका लागि विद्यार्थी, युवा,सामाजिक अभियन्ता, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा स्थानीय समुदायलाई अभियानमा जोड्ने तयारी भइरहेको छ। ४८८ हप्तासम्म निरन्तर सञ्चालन हुनु आफैंमा अभियानको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आयोजकले निरन्तरता,जनसहभागिता र सामूहिक प्रतिबद्धताबाट मात्रै दीर्घकालीन रूपमा स्वच्छ र स्वस्थ समाज निर्माण गर्न सकिने बताएका छ ।
चक्रपथको सरसफाइबाट सुरु भएको अभियानलाई क्रमशः देशव्यापी बनाउँदै “स्वच्छ वातावरण, स्वस्थ नागरिक र जिम्मेवार समाज” निर्माणको अभियानका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ।
