२०८३, आश्विन २ गते

Sep 18 2026

बालेन सरकारप्रति गगनको टिप्पणी : ‘गति रोज्न पाइन्छ, विधि मिच्न पाइँदैन’

बालेन सरकारप्रति गगनको टिप्पणी : ‘गति रोज्न पाइन्छ, विधि मिच्न पाइँदैन’

रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
रोज नेपाल
आइतवार, श्रावण २४ २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र साह ‘बालेन’ नेतृत्वको सरकारमाथि शासन सञ्चालनको शैलीलाई लिएर गम्भीर प्रश्न उठाएका छन्।

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको एजेन्डा प्रस्तुत गर्दै थापाले मुलुकमा शासकीय अराजकता बढ्दै गएको दाबी गरे। उनले सरकारका गतिविधिबारे कांग्रेसले अब थप प्रभावकारी रूपमा खबरदारी गर्ने बताए।

    प्रधानमन्त्रीले आफूले तीव्र गतिमा काम गरिरहेको संकेत गर्दै दिएको अभिव्यक्तिलाई उल्लेख गर्दै थापाले गति तीव्र हुनु आफैंमा समस्या नभए पनि कानुन र विधिको सीमा उल्लंघन गर्न नपाइने धारणा राखे।

    उनका अनुसार सरकार सञ्चालनमा एउटा गल्तीलाई संयोग वा कमजोरीका रूपमा लिन सकिए पनि एउटै प्रकारका गतिविधि निरन्तर दोहोरिए त्यसलाई सामान्य रूपमा स्वीकार गर्न नसकिने अवस्था आउँछ।

    थापाले कार्यपालिकाले आफ्नो संवैधानिक सीमाभन्दा बाहिर गएर न्यायपालिका, संसद् तथा संवैधानिक निकायमाथि प्रभाव जमाउन खोजेको आरोपसमेत लगाए। उनले राज्यका सबै अंग आ–आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्नुपर्नेमा जोड दिए।

    नेपालमा पछिल्लो समय शासन सञ्चालनमा अराजक प्रवृत्ति देखिएको दाबी गर्दै उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत संवैधानिक निकायको स्वतन्त्रतामाथि समेत प्रश्न उठ्ने अवस्था सिर्जना भएको बताए।

    सरकारका केही मन्त्रीहरूको अभिव्यक्तिप्रति पनि थापाले असन्तुष्टि जनाए। मन्त्रीहरूबाट धम्कीपूर्ण तथा आक्रामक भाषाको प्रयोग हुन थालेको भन्दै उनले यस्तो प्रवृत्तिमाथि कांग्रेसले निगरानी र खबरदारी गर्नुपर्ने बताए।

    थापाले प्रमुख प्रतिपक्षी दलका रूपमा सरकारलाई संविधान, कानुन र लोकतान्त्रिक विधिको सीमाभित्र राख्न कांग्रेसले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।

    उनले भने, सरकारका गतिविधिमाथि निगरानी राख्दै आवश्यक ठाउँमा आवाज उठाउनु प्रमुख प्रतिपक्षका रूपमा कांग्रेसको जिम्मेवारी हो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij