काठमाडौं । विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशनमा ढिलाइ नगर्न माग गर्दै अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयसमक्ष ३३ बुँदे मागपत्र पेस गरेको छ।
नेकपा एमाले निकट अनेरास्ववियुको त्रिवि जिल्ला कमिटीले सोमबार विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै शैक्षिक क्यालेन्डरलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। सहसंयोजक हिक्मतकुमार बुढाको नेतृत्वमा गएको टोलीले मागपत्र बुझाएको थियो।
अनेरास्ववियुले विद्यार्थी भर्नादेखि परीक्षा र नतिजा प्रकाशनसम्मका सम्पूर्ण प्रक्रिया तोकिएको समयसीमाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ। मागपत्रमा एक हजारभन्दा कम विद्यार्थी भएका विषयको नतिजा ३० दिनभित्र तथा १० हजारभन्दा बढी विद्यार्थी भएका विषयको नतिजा अधिकतम ६० दिनभित्र सार्वजनिक गर्नुपर्ने व्यवस्था लागू गर्न माग गरिएको छ।
त्यस्तै, विश्वविद्यालयका सबै तहका परीक्षा केन्द्र आङ्गिक तथा सामुदायिक क्याम्पसमै निर्धारण गर्नुपर्ने माग पनि अघि सारिएको छ।
विद्यार्थीमाथि पर्ने आर्थिक भार घटाउन निजी तथा आङ्गिक क्याम्पसले लिने शुल्कको वैज्ञानिक र पारदर्शी नियमन गर्नुपर्ने, शुल्क किस्ताबन्दीमा बुझाउन पाउने व्यवस्था गर्नुपर्ने तथा थेसिस मूल्याङ्कन प्रक्रियालाई विकेन्द्रित बनाउनुपर्ने अनेरास्ववियुको माग छ।
ज्ञापनपत्रमा उत्तरपुस्तिका घरमै लगेर परीक्षण गर्ने अभ्यास अन्त्य गर्नुपर्ने विषयलाई पनि समेटिएको छ। साथै, त्रिविको अतिक्रमित जग्गा फिर्ता ल्याउनुपर्ने र विद्यार्थीका कामलाई सहज बनाउन डिजिटल विद्यार्थी सेवा पोर्टल सञ्चालनमा ल्याउनुपर्ने माग गरिएको छ।
डिन, निर्देशक र क्याम्पस प्रमुखलगायतका जिम्मेवार पदमा खुला प्रतिस्पर्धाबाट योग्य व्यक्तिलाई नियुक्त गर्नुपर्ने विषयलाई समेत अनेरास्ववियुले प्राथमिकताका साथ उठाएको जनाएको छ।
अनेरास्ववियुले यी माग कार्यान्वयन भए विश्वविद्यालयको शैक्षिक गतिविधिमा देखिँदै आएको ढिलाइ कम हुनुका साथै विद्यार्थीले समयमै सेवा प्राप्त गर्ने वातावरण बन्ने अपेक्षा गरेको छ।