काठमाडौं । पोर्चुगलका चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डो र उनकी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेज विवाह बन्धनमा बाँधिएका छन्।
४१ वर्षीय रोनाल्डो र ३२ वर्षीया जर्जिनाले पोर्चुगलको कास्काइसमा निजी समारोहबीच विवाह गरेका हुन्। रोनाल्डोको व्यवस्थापन पक्षका अनुसार विवाह कार्यक्रम पारिवारिक सदस्य तथा नजिकका व्यक्तिहरूको उपस्थितिमा सीमित राखिएको थियो।
समारोहमा रोनाल्डोका पाँचै सन्तान सहभागी भएका थिए। रोनाल्डो र जर्जिनाका चार सन्तान रहेका छन् भने एक छोरा रोनाल्डोको अघिल्लो सम्बन्धबाट जन्मिएका हुन्।
जुम्ल्याहा इभा मारिया र माटेओ ९ वर्षका छन्। त्यस्तै, अलाना ८ वर्षकी र बेला ४ वर्षकी छन्। रोनाल्डो जुनियर भने १६ वर्षका छन्।
विवाहपछि रोनाल्डोले सामाजिक सञ्जालमार्फत खुसी साटेका छन्। उनले जर्जिनासँग विवाहको औँठी लगाएका हातको तस्वीर सार्वजनिक गर्दै छोटो सन्देशसमेत लेखेका छन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका रोनाल्डो र जर्जिनाको सम्बन्धले अन्ततः औपचारिक वैवाहिक रूप लिएको हो।