काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत बीमितले पाउँदै आएका औषधिको सूची सरकारले परिमार्जन गरेको छ। नयाँ सुविधा थैली लागू भएसँगै बीमाबाट उपलब्ध हुने औषधिको संख्या घटेको हो।
स्वास्थ्य बीमा बोर्डका अनुसार अब बीमा कार्यक्रममार्फत १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन्। यसअघि उक्त सूचीमा १ हजार २८९ प्रकारका औषधि समावेश थिए। नयाँ व्यवस्थामा १८७ प्रकारका औषधि हटाइएका छन्।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै उपचारका लागि प्रयोग हुने समान प्रकृतिका औषधिको दोहोरोपन हटाउनु, सरकारले आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क उपलब्ध गराउने औषधिलाई छुट्याउनु तथा प्रयोगमा नरहेका औषधि हटाउनु सूची परिमार्जन गर्नुका प्रमुख कारण हुन्।
यसअघि सरकारले स्वास्थ्य संस्थामार्फत निःशुल्क उपलब्ध गराउने केही औषधि स्वास्थ्य बीमाको सूचीमा समेत थिए। एउटै औषधि सरकारी निःशुल्क सेवाबाट पनि पाइने र बीमामार्फत पनि भुक्तानी हुने अवस्था रहेकाले त्यस्तो दोहोरो व्यवस्था हटाइएको बोर्डले जनाएको छ।
नयाँ सुविधा थैली स्वास्थ्य बीमा बोर्डको असार ३० गते बसेको बैठकबाट स्वीकृत भएको थियो। स्वीकृत व्यवस्था साउन ५ गतेदेखि कार्यान्वयनमा आइसकेको छ।
औषधिको संख्या घटे पनि बीमितले पाउने उपचार सेवामा उल्लेख्य असर नपर्ने बोर्डको दाबी छ। प्रयोगमा नरहेका तथा समान प्रभाव दिने औषधि हटाइएकाले आवश्यक उपचार वैकल्पिक औषधिबाट निरन्तर गर्न सकिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार सूची परिमार्जनको उद्देश्य बीमितलाई उपचारबाट वञ्चित गर्नु नभई औषधिको व्यवस्थापनलाई व्यवस्थित र दोहोरोपनरहित बनाउनु हो।
