काठमाडौं । समाचारसँग सम्बन्धित विषयलाई लिएर वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेपछि नेपाल पत्रकार महासंघले गम्भीर आपत्ति जनाएको छ।
महासंघका अनुसार श्रेष्ठलाई साउन २७ गते राति करिब ९ बजे काठमाडौं प्रहरी परिसरको टोलीले ललितपुरस्थित निवासबाट पक्राउ गरेको थियो। पक्राउलगत्तै राति करिब १ बजे समाचारको स्रोत खोज्दै उनको घरमा र बिहान कार्यालयमा समेत खानतलासी गरिएको महासंघले जनाएको छ।
समाचारमा चित्त नबुझेका विषय हेर्ने क्षेत्राधिकार प्रेस काउन्सिल नेपालको रहेको भन्दै महासंघले सरकारी संयन्त्र प्रयोग गरी पत्रकार श्रेष्ठमाथि गरिएको व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकार आचारसंहिता र संविधानविपरीत रहेको जनाएको छ।
महासंघले घटनालाई लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसमाथिको प्रहार भन्दै सरकारको शैलीप्रति कडा भर्त्सना गरेको छ।
श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गर्न तथा समाचारसम्बन्धी विवाद भए प्रेस काउन्सिल नेपालमार्फत आवश्यक प्रक्रिया अपनाएर समाधान खोज्न महासंघले सम्बन्धित निकायसँग माग गरेको छ।
