काभ्रे । बनेपा नगरपालिका–७ गोदामचोकमा बसको ठक्करबाट स्कुटरमा सवार एक वृद्धको मृत्यु भएको छ।
बनेपा–पनौती सडकखण्डअन्तर्गत शुभकामना हलनजिक बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा.३ ख २०१४ नम्बरको बसले सोही दिशातर्फ गइरहेको बा.प्र.०२–०४२ प १५९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो।
दुर्घटनामा स्कुटरको पछाडि सवार पनौती नगरपालिका–८ मल्पीका ६९ वर्षीय देवेन्द्रबहादुर खत्री गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि शिर मेमोरियल अस्पताल लगिए पनि उपचारकै क्रममा चिकित्सकले दिउँसो १२ः२२ बजे मृत घोषणा गरेका थिए।
स्कुटर चालक सोही स्थानका ४१ वर्षीय सन्तोष खत्रीको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।
बसले सडकमा पार्किङ गरी राखिएको बा.५१ प ३२० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो। दुर्घटनामा संलग्न बस, स्कुटर र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।
बस चालक पनौती नगरपालिका–३ कुशादेवीका सुरेश सापकोटालाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ।
