काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण पूर्वनिर्धारित समयभन्दा केही पछाडि सरेको छ। आन्तरिक तयारी तथा अन्य व्यवस्थापनका कारण अगस्टमा हुने भनिएको भ्रमण अब सेप्टेम्बरको दोस्रो सातातिर गर्ने तयारी गरिएको बताइएको छ।
भ्रमणका क्रममा लामिछाने तिब्बतमा रहेको धार्मिक तथा पर्यटकीय महत्वको मानसरोवर क्षेत्र पुग्ने कार्यक्रमसमेत तय भएको जनाइएको छ। साथै उनले चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि तथा सरकारका उच्च अधिकारीहरूसँग भेटवार्ता गर्ने कार्यसूची रहेको बताइएको छ।
तर चीनका राष्ट्रपति सी जिनपिङसँग भने लामिछानेको भेटवार्ता नहुने स्रोतको दाबी छ। यसअघि भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गरेका लामिछानेले चीनमा पनि उच्चस्तरीय राजनीतिक भेटवार्ताको पहल गरिरहेको बताइएको छ।
भ्रमणलाई थप व्यवस्थित बनाउन सम्बन्धित पक्षबीच आवश्यक समन्वय र तयारी भइरहेको परराष्ट्र मन्त्रालयसम्बद्ध अधिकारीहरूको भनाइ छ।