काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वी क्षेत्रमा सरदर स्थान आसपास र पश्चिमतर्फ नेपालको नजिक रहेकाले वर्षाको गतिविधि बढ्ने देखिएको हो।
महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि आंशिक रूपमा बादल लागेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थान तथा गण्डकीका एक–दुई ठाउँमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका अधिकांश भू–भागमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रका धेरै ठाउँमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने पूर्वानुमान छ।
यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा धेरै स्थानमा तथा बागमतीको तराई क्षेत्र र मधेश तथा कोशीका केही तराई भू–भागमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ।
विशेषगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। लुम्बिनीको तराई क्षेत्रमा भने एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा पनि हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बादल लाग्ने तथा मधेशको तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।
राति हिमाली र पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराईका विभिन्न प्रदेशमा समेत केही स्थानमा मेघगर्जनसहित वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भने धेरै भारी वर्षा हुनसक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिम भएका क्षेत्रमा आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।
