२०८३, कार्तिक १९ गते

Nov 04 2026

विपद् बढिरहँदा सरकार मौन : सांसद केरुङ

विपद् बढिरहँदा सरकार मौन : सांसद केरुङ

रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
रोज नेपाल
मंगलवार, भाद्र २ २०८३
  • काठमाडौँ । नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले प्राकृतिक विपद्, प्रेस स्वतन्त्रता र सरकारको कार्यशैलीलाई लिएर सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले जनसरोकारका विषयमा सरकार गम्भीर नदेखिएको आरोप लगाए।

    सांसद केरुङका अनुसार पछिल्लो समय जाजरकोट, बाजुरा, रोल्पालगायत जिल्लामा बाढी तथा पहिरोले ठूलो क्षति पुर्‍याएको छ। उनले २०८३ वैशाख १ देखि साउन ३१ गतेसम्म देशभर ४ हजार ६८१ विपद्का घटना भएको तथ्याङ्क सदनमा प्रस्तुत गरे।

    उक्त अवधिमा विपद्का कारण २४७ जनाको मृत्यु भएको, १५ जना बेपत्ता रहेको तथा १ हजार ४६३ जना घाइते भएको उनले बताए। उनका अनुसार विपद्बाट ५ हजार ७०९ परिवार प्रत्यक्ष प्रभावित भएका छन्।

    यति ठूलो मानवीय तथा भौतिक क्षति भइरहँदा पनि सरकारले प्रभावकारी रूपमा काम गर्न नसकेको केरुङको आरोप छ। विपद् व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने समयमा सरकार सत्ताको आन्तरिक समीकरण र प्रशासनिक गतिविधिमै केन्द्रित भएको उनको भनाइ थियो।

    उनले सुकुम्बासी बस्तीप्रतिको राज्यको व्यवहारप्रति समेत प्रश्न उठाए। भक्तपुरस्थित होल्डिङ सेन्टरमा हिरा मिजार दुसाधले आत्महत्या गरेको घटनालाई उल्लेख गर्दै केरुङले यसले राज्य संयन्त्रको संवेदनशीलतामाथि गम्भीर प्रश्न खडा गरेको बताए।

    बैठकमा उनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विषय पनि उठाए। पत्रकारमाथि दबाब र धम्की, सिंहदरबार प्रवेशमा गरिएको कडाइ तथा सञ्चार गृहमा भएको तोडफोडजस्ता घटनाले लोकतान्त्रिक मूल्य–मान्यतामाथि असर पार्ने उनको भनाइ थियो।

    सरकार नागरिकका समस्या समाधान र लोकतान्त्रिक अधिकारको संरक्षणमा केन्द्रित हुनुपर्नेमा त्यसको विपरीत दिशामा अघि बढेको भन्दै केरुङले सरकारको कार्यशैलीप्रति आपत्ति जनाए। उनले जनजीविका, विपद् व्यवस्थापन र प्रेस स्वतन्त्रताका विषयमा तत्काल गम्भीर कदम चाल्न सरकारसँग माग गरे।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij