२०८३, कार्तिक १९ गते

Nov 04 2026

देशभर बदली र वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

देशभर बदली र वर्षाको सम्भावना, केही प्रदेशमा भारी वर्षाको चेतावनी

रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
  • काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेकाले अधिकांश भू–भागमा मौसम बदली भएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आगामी दिनमा पनि वर्षाको गतिविधि जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ। सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

    आज दिउँसो पनि अधिकांश स्थानमा आकाशमा बादल लाग्ने अनुमान गरिएको छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।

    बागमती, गण्डकी र लुम्बिनीका साथै सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ।

    यसैगरी, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने मौसमविद्हरूले बताएका छन्।

    रातिको समयमा पनि हिमाली र पहाडी भू–भागमा सामान्यतया बादल लाग्नेछ। कोशी प्रदेशको तराई क्षेत्रमा समेत सामान्य बदली रहनेछ भने अन्य तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ।

    कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ। कोशी र लुम्बिनीका तराई क्षेत्रमा केही स्थान तथा मधेश, बागमती, गण्डकी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा समेत मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

    भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह

    देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, गेग्रान बहाव र भू–क्षयको जोखिम बढ्न सक्ने महाशाखाले जनाएको छ। विशेषगरी कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

    वर्षा र प्रतिकूल मौसमका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा तथा अन्य गतिविधि गर्न महाशाखाले अनुरोध गरेको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij