काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बुधबार बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्दैछ। बैठकमा विभिन्न विधेयक तथा अन्तर्राष्ट्रिय विद्युत् व्यापारसम्बन्धी विषयलाई कार्यसूचीमा समेटिएको छ।
आजको बैठकमा अर्थमन्त्री स्वर्णिम वाग्लेले ‘कर्मचारी सञ्चय कोष (दशौं संशोधन) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव अघि बढाउने कार्यक्रम रहेको छ।
त्यसैगरी युवा श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारका लागि भएको सम्झौतासम्बन्धी विषयसमेत संसद्मा पेश गर्ने सम्भावित कार्यसूची रहेको छ। बैठकमा यी विषयसँगै अन्य निर्धारित संसदीय कामकारबाही अघि बढाइनेछ।