काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ ५ गते केन्द्रीय समिति बैठक बोलाएको छ। पार्टीका सभापति रवि लामिछानेको निर्देशनअनुसार वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’मा बैठक बस्ने रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन्।
बैठकमा आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोटको प्रक्रिया र मापदण्डबारे छलफल हुने बताइएको छ। त्यससँगै २०८३ सम्बन्धी प्रस्ताव अनुमोदन गर्ने तथा ‘राइट टु रिकल’ अर्थात् निर्वाचित जनप्रतिनिधिलाई कार्यकाल पूरा हुनुअघि फिर्ता बोलाउन सकिने व्यवस्थासम्बन्धी दस्तावेज तयार गर्ने विषय पनि कार्यसूचीमा समेटिएको छ।
बैठकमा पार्टीका केन्द्रीय सदस्य, पदाधिकारी, सचिवालय सदस्य र विभिन्न विभागका प्रमुख मनोनयनसम्बन्धी प्रस्तावसमेत पेश हुनेछन्। स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति गठन तथा त्यसका सदस्य मनोनयन गर्ने विषयमा पनि निर्णय हुने जनाइएको छ।
रास्वपाले स्थानीय तहका उम्मेदवार छनोट प्रक्रियाबारे पार्टीका केन्द्रीय समिति तथा प्रतिनिधिसभा सदस्यको नेतृत्वमा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने प्रस्तावसमेत अघि सारेको छ।
यसैगरी पार्टीको आधिकारिक मुखपत्रका रूपमा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने प्रस्तावमाथि पनि बैठकमा छलफल हुने बताइएको छ। बैठकबाट पार्टीको आगामी संगठनात्मक गतिविधि र स्थानीय निर्वाचन केन्द्रित रणनीतिबारे थप निर्णय हुने अपेक्षा गरिएको छ।
