२०८३, कार्तिक १९ गते

Nov 04 2026

चकलेटको प्रलोभनमा पारेर तीन वर्षीया बालिकाको हत्या आरोप, दुई जना पक्राउ

चकलेटको प्रलोभनमा पारेर तीन वर्षीया बालिकाको हत्या आरोप, दुई जना पक्राउ

रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
रोज नेपाल
बुधवार, भाद्र ३ २०८३
  • बारा । जितपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन्। प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा बालिकालाई चकलेटको प्रलोभन देखाएर लगिएको र जबर्जस्ती करणीपछि हत्या गरिएको जनाएको छ।

    मंगलबार साँझ करिब पौने ६ बजे भक्तिनगरस्थित एक घरको खाली कोठामा बालिका मृत अवस्थामा रहेको सूचना प्रहरीलाई पुगेको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय सिमराबाट डीएसपी दिलीप क्षेत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो।

    जिल्ला प्रहरी कार्यालय बाराबाट एसपी नरेन्द्र कुँवरको नेतृत्वमा थप टोली परिचालन गरी घटनास्थलको अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रदेश प्रहरी कार्यालय वीरगन्जबाट तालिमप्राप्त कुकुरसहितको टोलीसमेत घटनास्थलमा खटाइएको थियो।

    अनुसन्धानका क्रममा मृतक बालिका जितपुरसिमरा–१ दसधुरी निवासी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी रहेको खुलेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गरिमा साउन ३१ गते बिहान करिब साढे ८ बजेदेखि घरबाट सम्पर्कविहीन भएकी थिइन्।

    प्रारम्भिक अनुसन्धानअनुसार जितपुरसिमरा–२ का करिब १६ वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिने भन्दै फकाएर घटनास्थलतर्फ लगेको र त्यहाँ जबर्जस्ती करणीपछि हत्या गरेको आरोप छ। सुमन ना.१ ज ७७५८ नम्बरको म्याजिकका सहचालक रहेको प्रहरीले जनाएको छ।

    घटनामा संलग्न रहेको आरोपमा प्रहरीले सुमन थापासहित म्याजिकका धनी जितपुरसिमरा–१ निवासी २४ वर्षीय प्रोग्रेस चौधरीलाई नियन्त्रणमा लिएको छ।

    प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ। बालिकाको शव पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रियाका लागि पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij