२०८३, आश्विन १ गते

Sep 17 2026

समीक्षा मगरको उपचारमा मुकुन्द सिलवालको पहल : सहयोगी हातले बचाउँदै १२ वर्षीया बालिकाको भविष्य

समीक्षा मगरको उपचारमा मुकुन्द सिलवालको पहल : सहयोगी हातले बचाउँदै १२ वर्षीया बालिकाको भविष्य

बुधवार, भाद्र ३ २०८३
बुधवार, भाद्र ३ २०८३
  • नवलपरासी (पश्चिम) । आर्थिक अभावका कारण गम्भीर स्वास्थ्य समस्या भोगिरहेकी सुनवल नगरपालिका–३ निवासी १२ वर्षीया बालिका समीक्षा मगरको उपचारमा सामाजिक अभियन्ता मुकुन्द सिलवालको पहल आशाको उज्यालो बनेको छ। टाउको तथा नसासम्बन्धी गम्भीर स्वास्थ्य समस्याबाट पीडित समीक्षा उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन नसक्दा परिवार निकै कठिन परिस्थितिमा पुगेको थियो। आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या देखिएपछि सामाजिक अभियन्ता मुकुन्द सिलवालले समीक्षाको जीवन रक्षाका लागि सहयोगको अपिल गर्दै अभियान अघि बढाएका थिए।

    सिलवालको सक्रियतापछि देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्था, क्लब, महिला समूह, राजनीतिक दल, समाजसेवी तथा सम्बन्धित सरकारी निकायहरूसमेतबाट सहयोगका हातहरू अघि बढे। प्राप्त सहयोगबाट समीक्षाको पहिलो चरणको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ।

    शल्यक्रिया सफल भएपछि समीक्षाकी आमाले छोरीको उपचारमा सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरूप्रति भावुक हुँदै आभार व्यक्त गरेकी छन्। कठिन अवस्थामा छोरीको उपचार सम्भव हुने अवस्था सिर्जना गरिदिएको भन्दै उनले सहयोगी हातहरूको योगदान कहिल्यै भुल्न नसक्ने बताएकी छन्।

    समीक्षाको उपचारमा सहयोग जुटाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका सामाजिक अभियन्ता मुकुन्द सिलवालले पनि देश–विदेशबाट सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संघ–संस्थाप्रति हार्दिक कृतज्ञता व्यक्त गरेका छन्। एउटा सानो सहयोगले समेत गम्भीर स्वास्थ्य समस्यासँग जुधिरहेकी बालिकाको जीवन बचाउन र उनको भविष्य सुरक्षित गर्न ठूलो योगदान पुग्ने भन्दै सिलवालले मानवताको यो अभियानमा साथ दिने सबैप्रति धन्यवाद दिएका छन्।

    तर, समीक्षाको संघर्ष अझै सकिएको छैन। पहिलो चरणको शल्यक्रिया सफल भए पनि आगामी उपचार, औषधि तथा नियमित स्वास्थ्य परीक्षणसँगै उनको शिक्षा–दीक्षाका लागि समेत थप आर्थिक सहयोग आवश्यक रहेको परिवारले जनाएको छ। घरको कमजोर आर्थिक अवस्थाका कारण उपचारसँगै बालिकाको पढाइलाई निरन्तरता दिनसमेत परिवारलाई कठिन भइरहेको छ। त्यसैले समीक्षा मगरको उपचार र शिक्षालाई निरन्तरता दिन पुनः सहयोगी मनहरूलाई साथ दिन आग्रह गरिएको छ।

    सामाजिक अभियन्ता मुकुन्द सिलवालको पहलमा सुरु भएको यो अभियान एउटा बालिकाको उपचारका लागि मात्र होइन, आर्थिक अभावकै कारण कुनै बालिकाले आफ्नो भविष्य गुमाउन नपरोस् भन्ने मानवीय अभियानका रूपमा अघि बढिरहेको छ।

    आज गरिएको सानो सहयोगले समीक्षाको उपचारमा राहत मात्र होइन, उनको आँखामा रहेको भविष्यको सपना जोगाउनसमेत ठूलो अर्थ राख्न सक्छ। समीक्षाको उपचार सफल बनाऔँ, शिक्षाको बाटो खुलाऔँ र एउटा बालिकाको भविष्य सुरक्षित गरौँ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij