काठमाडौँ । ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत डीएसपी वकिल बहादुर सिंह साउन महिनाका लागि ‘पुलिस अफ द मन्थ’ घोषित भएका छन्।
सातदोबाटो क्षेत्रमा शान्ति सुरक्षा मजबुत बनाउन तथा अपराध नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै जिल्ला प्रहरी परिसर ललितपुरले सिंहलाई महिनाको उत्कृष्ट प्रहरी छनोट गरेको हो।
उत्कृष्ट प्रहरी घोषित सिंहलाई जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी तुल बहादुर कार्कीले प्रमाणपत्रसहित नगद पुरस्कार प्रदान गरेका छन्।
जिल्ला प्रहरी परिसरका अनुसार डीएसपी सिंहको नेतृत्वमा फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, लागुऔषधसम्बन्धी गतिविधिमाथि कारबाही तथा जुवातास नियन्त्रणमा उल्लेखनीय काम भएको थियो।
प्रहरी वृत्त सातदोबाटोको सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा देखाएको सक्रियता तथा कार्यसम्पादनलाई आधार बनाएर उनलाई ‘पुलिस अफ द मन्थ’ छनोट गरिएको प्रहरीले जनाएको छ।