काठमाडौँ । लामखुट्टेको टोकाइबाट फैलिने विभिन्न रोगबारे जनचेतना जगाउने उद्देश्यले आज नेपालमा विश्व लामखुट्टे दिवस मनाइँदैछ। यस वर्ष नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने सन्देशसहित विभिन्न कार्यक्रम आयोजना गरिएका छन्।
लामखुट्टेको टोकाइ सामान्य देखिए पनि यसबाट गम्भीर स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सक तथा स्वास्थ्य अधिकारीहरूले बताउँदै आएका छन्। लामखुट्टेको माध्यमबाट औँलो, डेङ्गु, चिकनगुनिया, कालाजार, हात्तीपाइले तथा जापानिज इन्सेफलाइटिसलगायतका रोग सर्न सक्छन्।
नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे पहिचान भइसकेका छन्। स्वास्थ्य सेवा विभागका अनुसार गत आर्थिक वर्षमा लामखुट्टे तथा अन्य कीटजन्य रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए।
पछिल्ला वर्षमा जलवायु परिवर्तनको प्रभावसँगै लामखुट्टेबाट सर्ने रोगको जोखिम नयाँ क्षेत्रमा समेत बढ्दै गएको छ। विशेषगरी उच्च हिमाली क्षेत्रमा समेत यस्ता रोगको सम्भावना देखिन थालेपछि स्वास्थ्य क्षेत्रका लागि थप चुनौती सिर्जना भएको छ।
कीटजन्य रोग नियन्त्रणका लागि सरकारले सातवटै प्रदेशमा प्रयोगशाला स्थापना गरी निगरानी, परीक्षण तथा नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
