काठमाडौँ । अन्तरदेशीय व्यापारलाई थप व्यवस्थित र सहज बनाउने उद्देश्यले नेपालसहित चार देशका भन्सार प्रशासनबीच वस्तु नेपाल आइपुग्नुअघि नै सूचना आदानप्रदान गर्ने समझदारी भएको छ।
दक्षिण एसिया उपक्षेत्रीय आर्थिक सहयोग (एसएएसईसी) अन्तर्गत नेपाल, भुटान, बंगलादेश र माल्दिभ्सका भन्सार प्रशासनबीच समझदारीपत्रमा हस्ताक्षर भएको भन्सार विभागले जनाएको छ। माल्दिभ्समा सम्पन्न एसएएसईसीको १४औँ सबग्रुप बैठकका क्रममा चारै देशका भन्सार प्रशासकले समझदारीमा हस्ताक्षर गरेका हुन्।
नेपालका तर्फबाट भन्सार विभागका महानिर्देशक यमलाल भुसालले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सम्झौताको मुख्य उद्देश्य एक देशबाट अर्को देशमा जाने मालवस्तुको पूर्व आगमन सूचना सम्बन्धित भन्सार प्रशासनबीच साझा गर्नु रहेको विभागले जनाएको छ।
यस व्यवस्थाले सामान भन्सार कार्यालयमा पुग्नुअघि नै त्यससँग सम्बन्धित विवरणको अध्ययन तथा जोखिम मूल्यांकन गर्न सहयोग पुग्नेछ। जोखिममा रहेका मालवस्तुको पहिचान र निगरानी प्रभावकारी बनाउँदै नियमित कारोबार गर्ने व्यवसायीका लागि भने जाँचपास प्रक्रिया थप छिटो र सहज हुने अपेक्षा गरिएको छ।
भन्सार विभागका अनुसार नयाँ व्यवस्थाले व्यापारमा लाग्ने समय र लागत घटाउन तथा अन्तर्राष्ट्रिय कारोबारलाई थप पारदर्शी र पूर्वानुमानयोग्य बनाउन सहयोग गर्नेछ। साथै, भन्सार नियन्त्रण र व्यापार सहजीकरणबीच सन्तुलन कायम गर्न पनि यो समझदारी महत्वपूर्ण हुने विभागको भनाइ छ।
यसअघि नेपालले भारतसँग पनि यस्तै प्रकृतिको समझदारी गरिसकेको छ। गत माघको पहिलो साता नयाँदिल्लीमा नेपाल भन्सार विभाग र भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डबीच वस्तु आगमनपूर्व सूचना आदानप्रदानसम्बन्धी समझदारी भएको थियो।
नेपाल र भारतबीचको व्यवस्थाले जोखिममा आधारित निगरानीलाई प्रभावकारी बनाउनुका साथै सही कारोबार गर्ने व्यवसायीको जाँचपास प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको थियो। अन्तर्राष्ट्रिय व्यापारमा प्रमुख साझेदार मुलुकबीच मालवस्तु पुग्नुअघि नै आवश्यक तथ्यांक आदानप्रदान गरी जोखिम व्यवस्थापन गर्ने अभ्यासलाई प्रभावकारी भन्सार प्रणालीको महत्वपूर्ण हिस्सा मानिन्छ।