२०८३, आश्विन २ गते

Sep 18 2026

गरिमाको न्याय माग्दै माइतीघरमा प्रदर्शन, बाराको आन्दोलन झन् चर्कियो

गरिमाको न्याय माग्दै माइतीघरमा प्रदर्शन, बाराको आन्दोलन झन् चर्कियो

रोज नेपाल
बिहिवार, भाद्र ४ २०८३
रोज नेपाल
बिहिवार, भाद्र ४ २०८३
  • काठमाडौँ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा राजधानीमा समेत प्रदर्शन भएको छ। घटनामा संलग्नलाई कडा कानुनी कारबाही गर्न माग गर्दै स्वतन्त्र युवाहरूले बिहीबार माइतीघरमा प्रदर्शन गरेका हुन्।

    प्रदर्शनकारीले अबोध बालिकामाथि भएको जघन्य अपराधको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनअनुसार कठोर सजाय दिनुपर्ने माग गरेका छन्। उनीहरूले बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राज्य गम्भीर बन्नुपर्नेमा समेत जोड दिएका छन्।

    aaaarr.jpg

    यता, गरिमाको हत्याको विरोधमा बारामा जारी आन्दोलनका कारण वीरगञ्ज–पथलैया सडकखण्ड लगातार दोस्रो दिन पनि प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा वीरगञ्ज भन्सारबाट छुटेका ठूलो संख्याका मालवाहक सवारीसाधन बाटोमै रोकिएका छन्।

    आन्दोलनको प्रभाव जीतपुरसिमरा क्षेत्रका विद्यालयमा समेत परेको छ। बिहीबार उपमहानगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएका थिए।

    आन्दोलनरत स्थानीयले बालिका हराएको सूचना समयमै इलाका प्रहरी कार्यालय सिमरामा दिइए पनि खोजी कार्यमा प्रहरीले पर्याप्त सक्रियता नदेखाएको आरोप लगाएका छन्। खोजीका क्रममा आवश्यक समन्वय नभएको भन्दै उनीहरूले सिमरा प्रहरीको नेतृत्व परिवर्तनको मागसमेत अघि सारेका छन्।

    qr.jpg

    स्थानीयका अनुसार बालिका बेपत्ता भएको तीन दिनसम्म प्रभावकारी खोजी हुन नसकेको र परिवारले नाम किटान गरेर दिएको जाहेरीमा समेत तत्काल अनुसन्धान अघि नबढाइएको आरोप छ। यही विषयलाई लिएर स्थानीयवासी प्रहरी प्रशासनप्रति आक्रोशित बनेका हुन्।

    मंगलबार साँझ बालिकाको शव फेला परेपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा जीतपुरसिमरा–२ का दुई किशोरलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ।

    part34.jpg

    गरिमा प्रकरणमा न्यायको माग गर्दै बारा हुँदै काठमाडौँसम्म प्रदर्शन हुन थालेपछि घटनाले राष्ट्रियस्तरमा समेत थप ध्यान तानेको छ। प्रदर्शनकारीले दोषीमाथि निष्पक्ष अनुसन्धान र कानुनी कारबाहीसँगै घटनामा प्रहरीको भूमिकामाथि उठेका प्रश्नको पनि छानबिन हुनुपर्ने माग गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij