काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै काठमाडौंको शान्तिवाटिकामा प्रदर्शन गरिएको छ।
प्रदर्शनमा सहभागीहरूले गरिमाका लागि न्यायको माग गर्दै विभिन्न नारासहितका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले घटनामा संलग्न दोषीलाई कानुनअनुसार कडा सजाय दिनुपर्ने माग राखेका छन्।
प्रदर्शनकारीहरूले बालिकामाथि भएको जघन्य अपराधप्रति राज्य गम्भीर बन्नुपर्ने भन्दै घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न माग गरेका छन्।
उनीहरूले घटनाबारे गृहमन्त्री र कानुनमन्त्रीले तत्काल सार्वजनिक रूपमा सम्बोधन गर्नुपर्ने तथा पीडित परिवारलाई न्यायको अनुभूति हुने गरी सरकारले ठोस कदम चाल्नुपर्ने बताएका छन्।
गरिमा प्रकरणपछि दोषीलाई कडा सजाय दिनुपर्ने माग गर्दै नागरिकस्तरमा विरोध र आक्रोश बढ्दै गएको छ।