२०८३, आश्विन १ गते

Sep 17 2026

नेपाल–थाइल्याण्ड मित्रतालाई आर्थिक समृद्धिसँग जोड्न हेम बहादुर ढुङ्गेलको आह्वान

नेपाल–थाइल्याण्ड मित्रतालाई आर्थिक समृद्धिसँग जोड्न हेम बहादुर ढुङ्गेलको आह्वान

आइतवार, भाद्र ७ २०८३
आइतवार, भाद्र ७ २०८३
  • थाइल्याण्ड । नेपाल र थाइल्याण्डबीचको मैत्री, संस्कृति, पर्यटन तथा व्यावसायिक सहकार्यलाई थप सुदृढ बनाउने उद्देश्यले आयोजित नेपाल–थाइल्याण्ड फ्रेन्डशिप फेस्टिभल २०२६ तथा एशिया ग्लोबल एक्सिलेन्स अवार्ड्स २०२६ पाटायास्थित सियामिज होटलमा भव्य रूपमा सम्पन्न भएको छ।

    हिमालयन कम्युनिटी प्रोजेक्ट र वर्ल्डवाइड प्रोडक्सन मिडियाको आयोजनामा सम्पन्न कार्यक्रममा नेपाल, थाइल्याण्ड तथा विभिन्न देशमा रहेका नेपाली समुदायका प्रतिनिधि, व्यवसायी, सामाजिक अभियन्ता, बुद्धिजीवी, कलाकार, पत्रकारलगायत विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कार्यक्रममा विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान तथा अवार्ड प्रदान गरिएको थियो। कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी जेनजी प्रतिनिधि तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय महाधिवेशन प्रतिनिधि हेम बहादुर ढुङ्गेलले नेपाल–थाइल्याण्ड सम्बन्धलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सरकार–सरकार (G2G) स्तरमा कृषि, पर्यटन तथा संस्कृतिका क्षेत्रमा संस्थागत सहकार्य आवश्यक रहेको बताउनुभयो।

    ढुङ्गेलले नेपाल र थाइल्याण्ड प्राकृतिक सम्पदा, सांस्कृतिक विविधता तथा धार्मिक पर्यटनका दृष्टिले अत्यन्तै सम्भावनायुक्त मुलुक रहेको उल्लेख गर्दै यी सम्भावनालाई आर्थिक विकाससँग जोड्न सके दुवै देशका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने बताउनुभयो।

    उहाँले भन्नुभयो, “नेपाल र थाइल्याण्ड दुवै देशको आफ्नै भौगोलिक विविधता र सांस्कृतिक पहिचान छ। यो पहिचानलाई आर्थिक समृद्धिसँग जोड्न सकियो भने दुवै देशका जनताले प्रत्यक्ष लाभ लिन सक्छन्।”

    ढुङ्गेलले कृषि प्रविधि, पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदानप्रदान तथा उद्यमशीलताका क्षेत्रमा अनुभव र ज्ञानको साझेदारीलाई थप विस्तार गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रमले सरकार तथा संस्थाबीचको सम्बन्धसँगै जनस्तरको सम्बन्धलाई समेत थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो।

    कार्यक्रममा नेपालका विभिन्न स्थानीय तहका प्रतिनिधि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रका व्यवसायी, कलाकार, पत्रकार तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो। महोत्सवले नेपालको कला, संस्कृति, पाककला, पर्यटन तथा नेपाली प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रवर्द्धन गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

    आयोजकका अनुसार थाइल्याण्डबाट सुरु गरिएको यो अभियान आगामी दिनमा नेपाल–थाइल्याण्डबीच पर्यटन, व्यापार, शिक्षा, संस्कृति तथा सामाजिक सहकार्यलाई थप विस्तार गर्ने उद्देश्यसहित निरन्तर अघि बढाइनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij