काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश भूभागमा बदली र वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा औसत स्थान आसपास रहेकाले मौसममा बदली र वर्षाको गतिविधि देखिएको हो।
हाल देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली छ। बागमती र गण्डकीका केही स्थानसहित कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै भूभाग तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुनसक्नेछ। यस्तै, पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराई क्षेत्रका केही स्थानमा र मधेस तथा कोशीका तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
रातिको समयमा पनि देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा र हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा केही तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुनसक्ने जनाइएको छ।
त्यस्तै, कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा केही तथा मधेस, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। राति पनि कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।
भारी वर्षाको सम्भावना रहेका स्थानमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, पर्यटन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले मौसमसम्बन्धी सूचना नियमित रूपमा हेर्न विभागले अनुरोध गरेको छ।
