काठमाडौँ । जोर्नी दुख्ने समस्या उमेर बढ्दै गएपछि मात्र हुन्छ भन्ने धेरैको बुझाइ छ । तर पछिल्लो समय युवादेखि वृद्धसम्म विभिन्न कारणले जोर्नी दुख्ने, सुन्निने तथा चलाउँदा अप्ठ्यारो हुने समस्या देखिन थालेको छ । सामान्य थकानदेखि हड्डी तथा जोर्नीसँग सम्बन्धित रोगसम्म जोर्नी दुखाइका विभिन्न कारण हुन सक्छन् ।
जोर्नी दुख्नुका प्रमुख कारणमा अत्यधिक शारीरिक मेहनत, लामो समय एउटै अवस्थामा बसिरहनु, चोटपटक, मांसपेशीमा समस्या, बढी तौल, उमेरसँगै हुने हड्डीको क्षय, गठिया तथा शरीरमा युरिक एसिडको मात्रा बढ्नु लगायत पर्छन् । चिसो मौसममा पुरानो जोर्नीको समस्या भएका व्यक्तिमा दुखाइ अझ बढी महसुस हुन सक्छ ।
विशेषगरी घुँडा, कुहिनो, काँध, हातका औँला तथा खुट्टाका जोर्नीमा बारम्बार दुखाइ हुने, बिहान उठ्दा जोर्नी कडा हुने, जोर्नी सुन्निने वा रातोपन देखिने भए त्यसलाई सामान्य दुखाइ भनेर बेवास्ता गर्नु हुँदैन ।
जोर्नी स्वस्थ राख्न नियमित हल्का व्यायाम गर्ने, शरीरको तौल नियन्त्रणमा राख्ने, लामो समय एउटै अवस्थामा नबस्ने, पर्याप्त आराम गर्ने र सन्तुलित तथा पौष्टिक आहार खाने बानी उपयोगी हुन्छ । पर्याप्त पानी पिउनु र चोटपटकबाट जोगिनु पनि महत्त्वपूर्ण मानिन्छ ।
तर जोर्नी दुखाइ लामो समयसम्म रहिरहेमा, पटक–पटक दोहोरिएमा, जोर्नी धेरै सुन्निएमा, रातो वा तातो भएमा, ज्वरो आएमा वा हिँडडुल गर्न कठिनाइ भएमा चिकित्सकसँग परामर्श लिनुपर्छ । आवश्यकताअनुसार चिकित्सकले रगत परीक्षण, एक्स–रे वा अन्य जाँच गरेर दुखाइको वास्तविक कारण पहिचान गर्न सक्छन् ।
आफैंले जथाभावी दुखाइ कम गर्ने औषधि सेवन गर्नुको सट्टा समस्या दोहोरिरहेमा स्वास्थ्यकर्मीसँग सल्लाह लिनु सुरक्षित हुन्छ ।