२०८३, आश्विन १ गते

Sep 17 2026

राप्रपा सांसदलाई दुईथरी निर्देशन,किरण थापाले पाउलान् त विश्वासको मत

राप्रपा सांसदलाई दुईथरी निर्देशन,किरण थापाले पाउलान् त विश्वासको मत

रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
रोज नेपाल
सोमवार, भाद्र ८ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बागमती प्रदेश संसदीय दलभित्रको विवाद मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट लिन लागेको विश्वासको मतसम्म आइपुगेको छ। एउटै विषयमा पार्टीका दुई समूहले प्रदेशसभा सदस्यहरूलाई फरक–फरक निर्देशन दिएपछि राप्रपाका सांसदहरू अन्योलमा परेका छन्।

    मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा विश्वासको मत लिने तयारी गरेका छन्। त्यसअघि राप्रपा बागमती प्रदेश संसदीय दलबाट उनको प्रस्तावमाथि कसरी मतदान गर्ने भन्ने विषयमा दुईवटा विपरीत ह्विप जारी भएका हुन्।  मुख्यमन्त्री थापाले विश्वासको मत पाउन प्रदेश सभाको बहुमत ५३ जना सांसदको समर्थन आवश्यक पर्छ । प्रदेश सभामा नेकपाको २६ र एमालेको २५ गरेर ५१ जना मात्रै सांसद भएकाले मुख्यमन्त्रीलाई बहुमत पुर्‍याउन राप्रपाको साथ लिन लागेको हो ।

    आइतबार प्रमुख सचेतक कुमारी तामाङले राप्रपाका प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री थापाको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएकी थिइन्। उक्त निर्देशन प्रदेशसभा सदस्यहरूलाई पठाइएको थियो।

    त्यसको केही समयमै डम्बर तामाङको नामबाट अर्को ह्विप जारी भयो। उक्त पत्रमा प्रदेशसभाको बैठकमा अनिवार्य उपस्थित भएर मुख्यमन्त्री थापाले राख्ने विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्न भनिएको छ।

    डम्बर तामाङले जारी गरेको पत्रमा ह्विप संसदीय दलको बैठकको निर्णय तथा राप्रपा संसदीय दलको विधानअनुसार जारी गरिएको दाबी गरिएको छ।

    तर, संसदीय दलका नेता उद्धव थापाले सरकार गठन हुनुअघि नै डम्बर तामाङलाई प्रमुख सचेतकको जिम्मेवारीबाट हटाएको बताइएको छ। यही कारण अहिले कुन पक्षबाट जारी भएको ह्विप आधिकारिक मान्ने भन्ने प्रश्न पनि उठेको छ।

    राप्रपा बागमतीमा मुख्यमन्त्री थापालाई समर्थन गर्ने वा नगर्ने विषयमा यसअघि नै मतभेद रहँदै आएको थियो। संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्रीलाई समर्थन गरिएको दाबी एक पक्षले गर्दै आएको छ भने पार्टीको केन्द्रीय नेतृत्वले उक्त समर्थन पार्टीको निर्णयअनुकूल नभएको बताउँदै आएको छ।

    एकै विषयमा दुई पक्षबाट आएको विपरीत निर्देशनले सोमबार हुने विश्वासको मतमा राप्रपाका सांसदको भूमिका थप पेचिलो बनेको छ। यससँगै बागमती प्रदेशसभामा राप्रपाको आधिकारिक संसदीय दलको निर्णय र कसको ह्विप लागू हुने भन्ने विवादसमेत गहिरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij