२०८३, आश्विन २ गते

Sep 18 2026

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम

रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
रोज नेपाल
मंगलवार, भाद्र ९ २०८३
  • काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले मौसममा बदलीसँगै वर्षा हुने अवस्था देखिएको हो।

    हाल देशका अधिकांश भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा गण्डकीका एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    दिउँसो देशभर सामान्य बदली रहने अनुमान छ। हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा र हिमपात हुनसक्नेछ। पहाडी भू–भागका धेरै स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    तराई क्षेत्रमा पनि केही स्थानमा वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थान तथा मधेश र कोशीका तराई भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुने सम्भावना छ।

    यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

    रातिको समयमा पनि देशभर सामान्य बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा वर्षा तथा हिमपातको सम्भावना छ भने कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।

    राति पनि कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

    महाशाखाले कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको छ। भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको हो।

    वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले मौसमसम्बन्धी पछिल्ला सूचना हेरेर मात्र यात्रा तथा अन्य गतिविधि गर्न महाशाखाले सुझाव दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij