काठमाडौं । प्रतिनिधिसभाको सोमबारको बैठकले चारवटा महत्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित संसदीय समितिमा पठाउने प्रस्ताव अनुमोदन गरेको छ।
बैठकमा सामान्य छलफल तथा सांसदहरूबाट प्राप्त संशोधन प्रस्तावमाथि विचार गरेपछि विधेयकहरूलाई थप अध्ययन र परिमार्जनका लागि समितिमा पठाउने निर्णय गरिएको हो।
प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव सदनले स्वीकृत गरेको छ।
यसैगरी परराष्ट्रमन्त्री शिशिर खनालले प्रस्तुत गरेको ‘राहदानी (पहिलो संशोधन) विधेयक, २०८३’ लाई पनि समितिमा पठाउने प्रस्ताव बैठकबाट पारित भएको छ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता वादीले ‘मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३’ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ‘खानी तथा खनिज पदार्थ विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गरेका थिए। दुवै प्रस्ताव पनि प्रतिनिधिसभाले अनुमोदन गरेको हो।
अब चारवटै विधेयक सम्बन्धित संसदीय समितिमा पुग्नेछन्। समितिमा विधेयकका विभिन्न प्रावधान, सांसदहरूले दर्ता गराएका संशोधन तथा विषयवस्तुमाथि विस्तृत छलफल गरी आवश्यक सुझावसहित प्रतिवेदन तयार गरिनेछ।
सोमबारको बैठकको प्रारम्भमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिएका थिए। त्यसपछि विधेयकसम्बन्धी कार्यसूची अघि बढाइएको थियो।
बैठकका निर्धारित कार्यसूची सम्पन्न भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको अर्को बैठक भदौ ९ गते मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरेका छन्।