२०८३, आश्विन १ गते

Sep 17 2026

रसुवा बाढीपछि उद्धार तीव्र बनाउने तयारी, हेलिकप्टरदेखि मेडिकल टोलीसम्म स्ट्यान्डबाइ

रसुवा बाढीपछि उद्धार तीव्र बनाउने तयारी, हेलिकप्टरदेखि मेडिकल टोलीसम्म स्ट्यान्डबाइ

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । रसुवामा आएको बाढीपछि सम्भावित उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारले आवश्यक सबै संयन्त्रलाई तयारी अवस्थामा राखेको छ। प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नुपर्ने अवस्था आए हेलिकप्टर परिचालन गर्न सकिने गरी तयारी गरिएको जनाइएको छ।

    प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्रमा आवश्यकताअनुसार उद्धार तथा राहतका काम तत्काल अघि बढाउन हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राखिएको जानकारी दिएका छन्। निजी क्षेत्रका हेलिकप्टर कम्पनीलाई समेत आफ्ना हेलिकप्टर तयारी अवस्थामा राख्न भनिएको उनले उल्लेख गरेका छन्।

    बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल तथा नेपाल प्रहरीको टोली परिचालन गरिएको छ। आवश्यकताअनुसार अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति प्रभावित क्षेत्रमा पठाइएको प्रधानमन्त्री शाहले बताएका छन्।

    यसैबीच, प्रभावित क्षेत्रमा थप एम्बुलेन्स र स्वास्थ्यकर्मी पठाउने तयारी भइरहेको छ। विपद् व्यवस्थापन प्राधिकरणले मेडिकल टोली परिचालनका साथै नेपाल स्काउट, रेडक्रस लगायतका संस्थासँग समन्वय गरेर राहत तथा उद्धार व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम अघि बढाएको जनाइएको छ।

    बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै तल्लो तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सार्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइएको छ। नदीको बहाव तथा जोखिमको अवस्था हेरेर आवश्यक परे थप क्षेत्रमा समेत स्थानान्तरणको प्रक्रिया अघि बढाइने बताइएको छ।

    सरकारले बाढी प्रभावित क्षेत्रको अवस्थालाई निरन्तर निगरानीमा राख्दै आवश्यकताअनुसार उद्धार, स्वास्थ्य सेवा तथा राहत सामग्री परिचालन गर्ने तयारी गरेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij