काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीको अवस्था र त्यसबाट हुनसक्ने जोखिमबारे छलफल गर्न गृह मन्त्रालयमा मनसुन प्रतिकार्य कमाण्ड पोस्टको आकस्मिक बैठक बसेको छ।
गृहमन्त्री सुधन गुरुङको विशेष उपस्थितिमा सुरु भएको बैठकमा भोटेकोशीको पछिल्लो अवस्था, बाढीको सम्भावित प्रभाव तथा जोखिममा रहेका क्षेत्रमा तत्काल अपनाउनुपर्ने उद्धार, सुरक्षा र विपद् व्यवस्थापनका उपायबारे छलफल भइरहेको छ।
तिब्बततर्फबाट भोटेकोशी नदीमा ठूलो मात्रामा पानीको बहाव प्रवेश गरेपछि त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको अधिकारीहरूले बताएका छन्। बाढीको प्रभाव त्रिशूली नदी हुँदै मुग्लिनसम्म पुग्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नुवाकोट, धादिङ र चितवनका त्रिशूली नदी आसपासका क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्नसमेत सर्वसाधारणलाई सचेत गराइएको छ।
भोटेकोशीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायले अवस्थाको निरन्तर निगरानी गरिरहेका छन्। सम्भावित जोखिम देखिएमा तत्काल उद्धार तथा सुरक्षा संयन्त्र परिचालन गर्ने तयारीसमेत भइरहेको जनाइएको छ।
