काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीबाट प्रभावित सर्वसाधारणलाई लक्षित गर्दै एनसेलले तीन दिनसम्म निःशुल्क भ्वाइस र डेटा सेवा उपलब्ध गराउने भएको छ ।
बाढीका कारण परिवार, आफन्त तथा उद्धारमा खटिएका टोलीसँग सम्पर्क गर्न कठिनाइ भइरहेका बेला प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन यस्तो व्यवस्था गरिएको एनसेलले जनाएको छ ।
कम्पनीका अनुसार प्रभावित ग्राहकलाई तीन दिनसम्म प्रयोग गर्न मिल्ने १०० वटा एसएमएससमेत निःशुल्क प्रदान गरिनेछ । यसबाट विपद्का बेला आवश्यक सूचना आदानप्रदान गर्न तथा आफन्त र उद्धारकर्मीसँग सम्पर्कमा रहन सहज हुने अपेक्षा गरिएको छ ।
एनसेलले आपत्कालीन अवस्थामा सञ्चार सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले प्रभावित क्षेत्रमा सेवा सहज बनाउन पहल गरेको जनाएको छ । बाढी प्रभावितहरूले उद्धार, राहत तथा परिवारसँगको सम्पर्कका लागि उपलब्ध निःशुल्क सेवाको प्रयोग गर्न सक्नेछन् ।
विपद्का समयमा खोज, उद्धार तथा राहत कार्यमा सञ्चार सेवामार्फत सहयोग गर्दै आएको एनसेलले जनाएको छ । पछिल्लो सुविधा पनि रसुवाका बाढी प्रभावित क्षेत्रमा आपत्कालीन सञ्चारलाई निरन्तरता दिने उद्देश्यले ल्याइएको कम्पनीको भनाइ छ ।