काठमाडौं । रसुवामा आएको बाढीपछि जिल्लाका विभिन्न क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। उनीहरूमध्ये ठूलो संख्या विदेशी पर्यटकको रहेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमा २९१ जना विदेशी र ९३ जना नेपाली रहेका छन्। बोर्डले विभिन्न ट्राभल एजेन्सीबाट प्राप्त विवरण संकलन गरी पर्यटकको अवस्थाबारे जानकारी सार्वजनिक गरेको हो।
पर्यटकहरू सम्पर्कविहीन रहेको विवरण ट्राभल एजेन्सी, टुर गाइड, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी पुष्टि गरिएको बोर्डले जनाएको छ।
बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा आवागमन प्रभावित हुनुका साथै पर्यटकीय क्षेत्रमा समेत असर परेको छ। सम्पर्कविहीन पर्यटकहरूको अवस्थाबारे थप जानकारी लिन सम्बन्धित निकायले समन्वय तथा खोजीको काम अघि बढाइरहेका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी अभियान जारी रहेकाले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण प्राप्त हुने अपेक्षा गरिएको छ।
