काठमाडौँ । त्रिशूली नदीमा आएको ठूलो बाढीले सडक तथा पुलसहितका भौतिक संरचनामा व्यापक क्षति पुर्याएको छ। सडक विभागको प्रारम्भिक विवरणअनुसार त्रिशूली नदी करिडोर र आसपासका क्षेत्रमा रहेका कम्तीमा १९ वटा पुल बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएका छन्।
बाढीको प्रभाव सडकमा समेत परेको छ। विभिन्न स्थानमा गरी करिब ४० किलोमिटर सडक पूर्ण वा आंशिक रूपमा भत्किएको तथा कतिपय खण्ड बाढीले बगाएको विभागले जनाएको छ। सडक र पुलमा क्षति पुगेपछि प्रभावित क्षेत्रमा यातायात आवागमन अवरुद्ध भएको छ।
अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन सडक विभागले पहिरो पन्छाउने र क्षतिग्रस्त संरचनामा अस्थायी मर्मत गर्ने काम अघि बढाएको छ। यसका लागि आवश्यक हेभी मेसिन तथा अन्य उपकरण प्रभावित क्षेत्रका संवेदनशील स्थानमा परिचालन गरिएको छ।
विभागका प्राविधिक टोलीसमेत प्रभावित क्षेत्रमा खटिएका छन्। सडक खुलाउने र अस्थायी रूपमा यातायात सञ्चालन गर्न सकिने अवस्था बनाउने प्रयास भइरहेको जनाइएको छ।
तर, निरन्तरको खराब मौसम र भौगोलिक कठिनाइका कारण उद्धार तथा सडक मर्मतको काम सहज हुन सकेको छैन। कतिपय स्थानमा सडकको आधार नै बगाएको र पुलमा गम्भीर क्षति पुगेकाले यातायात सेवा तत्काल पूर्ण रूपमा सामान्य अवस्थामा फर्काउन कठिन देखिएको विभागले जनाएको छ।
सडक विभागले जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। यात्रा गर्नैपर्ने अवस्था भए सडकको पछिल्लो अवस्थाबारे सम्बन्धित निकायबाट जानकारी लिएर मात्र यात्रा गर्न विभागले अनुरोध गरेको छ।
