काठमाडौं । रसुवामा आएको बाढीको प्रभाव त्रिशूली नदी हुँदै धादिङसम्म पुगेको छ। बाढीमा परेका व्यक्तिमध्ये धादिङका विभिन्न स्थानबाट ६ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।
प्रहरीका अनुसार बुधबार दिउँसो ३ बजेसम्म गल्छी गाउँपालिकाको महेश दोभानमा एक महिलाको शव भेटिएको छ। सोही गाउँपालिकाको कोल्फु खोला पुल नजिकबाट दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।
त्यस्तै, सिद्धलेख गाउँपालिका–७ अन्तर्गत त्रिशूली नदी किनारबाट एक जनाको शव तथा बेनिघाट रोराङ गाउँपालिकाको बेनिघाट बजार नजिकै नदी किनारबाट दुई महिलाको शव फेला परेको छ।
बाढी तथा नदीमा फसेका ७ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। उद्धार गरिएकामध्ये घाइतेलाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लगिएको छ।
बाढीका कारण त्रिशूली नदी आसपासका क्षेत्रमा जोखिम बढेकाले सुरक्षा निकायले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। नदी किनार तथा प्रभावित क्षेत्रमा थप बेपत्ता वा प्रभावित व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।