२०८३, आश्विन २ गते

Sep 18 2026

कांग्रेसका सबै कार्यक्रम स्थगित, उद्धार र राहतमा खटिन निर्देशन

कांग्रेसका सबै कार्यक्रम स्थगित, उद्धार र राहतमा खटिन निर्देशन

रोज नेपाल
बुधवार, भाद्र १० २०८३
रोज नेपाल
बुधवार, भाद्र १० २०८३
  • काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरी रसुवा लगायत बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत अभियानमा केन्द्रित हुने निर्णय गरेको छ।

    कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको आकस्मिक केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति गगनकुमार थापाले बाढीका कारण उत्पन्न गम्भीर अवस्थालाई ध्यानमा राख्दै पार्टीका नेता तथा कार्यकर्तालाई तत्काल राहत र उद्धारमा परिचालन हुन निर्देशन दिएका हुन्।

    उनका अनुसार बुधबारका लागि तय गरिएको ‘ग्रिन टेबल’ तथा बिहीबार आयोजना हुने ‘महिला उद्यमी सम्मेलन’ समेत स्थगित गरिएको छ। विपद्को अवस्था सामान्य नभएसम्म पार्टीका अन्य कार्यक्रमलाई समेत प्राथमिकता नदिई प्रभावित नागरिकको सहयोगमा जुट्ने कांग्रेसले जनाएको छ।

    सभापति थापाले भोटेकोशी र त्रिशूली नदीको तल्लो तटीय क्षेत्र तथा आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। उनले सरकारलाई राज्यका सम्पूर्ण संयन्त्र परिचालन गर्दै तीनै तहका सरकारसँग समन्वय गरेर उद्धार र राहतलाई तीव्र बनाउन आग्रह गरे।

    विपद् व्यवस्थापनका लागि सरकारले अघि बढाउने सबै प्रयासमा कांग्रेसको पूर्ण सहयोग रहने थापाले बताए। सरकारसँग भएको छलफलमा संसदीय दलका नेता तथा रसुवाका सांसदले समेत प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी गराइसकेको उनले उल्लेख गरे।

    थापाले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लाका कांग्रेसका स्थानीय समिति, नेता तथा कार्यकर्तालाई तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्न अपिल गरेका छन्।

    पार्टीका सदस्यलाई आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै सम्भव भएसम्म खोजी, उद्धार र राहतमा सहभागी हुन उनले आग्रह गरेका छन्।

    बाढी प्रभावितका लागि आवश्यक सहयोग जुटाउन रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यको संयोजकत्वमा समन्वय गर्ने निर्णयसमेत गरिएको छ। आचार्यको नेतृत्वमा सरकारसँग समन्वय गरी देशभरका कांग्रेस कार्यकर्ताबाट आवश्यक सहयोग संकलन तथा प्रभावित क्षेत्रमा पुर्‍याउने व्यवस्था मिलाइने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij