काठमाडौं । रसुवागढी नाका बाढीका कारण प्रभावित भएपछि विकल्पका रूपमा हेरिएको तातोपानी नाका पनि चीनतर्फबाट बन्द गरिएको छ।
तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी तुलबहादुर पाण्डेका अनुसार चीनको तर्फबाट भन्सार कार्यालयलाई इमेलमार्फत नाका बन्द गरिएको जानकारी प्राप्त भएको हो। प्राप्त सूचनामा अर्को निर्णय नभएसम्म तातोपानी नाका सञ्चालनमा नआउने उल्लेख छ।
रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि नेपाल–चीनबीचको व्यापारलाई निरन्तरता दिन तातोपानी नाकाबाट कारोबार सञ्चालन गर्ने अपेक्षा गरिएको थियो। तर तातोपानीसमेत बन्द भएपछि चीनसँगको स्थल व्यापारका लागि नेपालको विकल्प थप सीमित भएको छ।
हाल चीनसँगको व्यापारका लागि मुस्ताङको कोरला नाका मात्रै सञ्चालनमा रहेको जनाइएको छ। चाडपर्व नजिकिँदै गर्दा प्रमुख दुई नाका अवरुद्ध भएपछि यसको प्रभाव नेपाली बजारमा पर्न सक्ने व्यवसायी तथा सरोकारवालाको चिन्ता छ।
तातोपानी भन्सार कार्यालयका अनुसार नेपालतर्फ भने हाल सडकमार्ग सामान्य रूपमा सञ्चालन भइरहेको छ। तर चिनियाँ पक्षबाट नाका बन्द गरिएकाले दुई देशबीचको आवतजावत तथा व्यापारिक गतिविधि प्रभावित भएका छन्।