२०८३, आश्विन १ गते

Sep 17 2026

भोटेकोशी बाढीका पहिचान नखुलेका शव काठमाडौंमा व्यवस्थापन गरिँदै

भोटेकोशी बाढीका पहिचान नखुलेका शव काठमाडौंमा व्यवस्थापन गरिँदै

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काठमाडौं । भोटेकोशी बाढीमा परी मृत्यु भएका तर हालसम्म पहिचान खुल्न नसकेका केही शव काठमाडौंमै व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सरकारी वन क्षेत्र पहिचान गरी शव व्यवस्थापनको तयारी अघि बढाएको हो।

    काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलका अनुसार काठमाडौं ल्याइएका पहिचानविहीन शवलाई सरकारी स्वामित्वको वन क्षेत्रमा व्यवस्थापन गर्ने निर्णय भएको छ। उपयुक्त स्थान पहिचान गर्न केही दिनदेखि निरन्तर प्रयास गरिएको उनले बताए।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि हालसम्म ९८७ शव फेला परिसकेका छन्। तीमध्ये करिब एक सय शव काठमाडौं ल्याइएको जनाइएको छ।

    बाढीपछि ठूलो संख्यामा शव फेला परेपछि शव व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो। फिस्लिङदेखि गोलाघाटसम्म संकलन गरिएका र पहिचान हुन नसकेका शव यसअघि चितवनमा व्यवस्थापन गरिएको थियो।

    बाढी आएको तेस्रो दिनमै शवगृहमा क्षमताभन्दा बढी शव जम्मा भएपछि समस्या उत्पन्न भएको थियो। शव सुरक्षित राख्ने पूर्वाधार पर्याप्त नहुँदा करिडोरमै शव कुहिने अवस्था आएको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका अस्पतालमा करिब ६०० शव राख्न सक्ने क्षमता मात्रै रहेको छ।

    काठमाडौंमा शव व्यवस्थापनका लागि स्थान छनोट गर्न तीन–चार दिनसम्म लगातार प्रयास गर्नुपरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताएका छन्।

    सरकारले पहिचान नखुलेका तथा बेवारिसे शव व्यवस्थापनसम्बन्धी निर्देशिका, २०७८ मा तोकिएको प्रक्रियाअनुसार शव व्यवस्थापन गर्ने तयारी गरेको हो। उक्त निर्देशिकाले शवको मुचुल्का तयार गर्ने, प्रारम्भिक पहिचान गर्ने, आवश्यक थप विधिबाट पहिचानको प्रयास गर्ने, सनाखत तथा अभिलेखीकरण गर्ने र शव व्यवस्थापन गरिएको स्थानमा आवश्यक संकेत चिह्न राख्नुपर्ने व्यवस्था गरेको छ।

    यस प्रक्रियामार्फत भविष्यमा शवको पहिचान खुलेमा सम्बन्धित परिवारलाई आवश्यक जानकारी उपलब्ध गराउन सकिने गरी अभिलेख सुरक्षित राखिनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij