२०८३, आश्विन २ गते

Sep 18 2026

रसुवाका बाढीपीडितलाई बेथानचोक गाउँपालिकाबाट ३५ लाख सहयोग

रसुवाका बाढीपीडितलाई बेथानचोक गाउँपालिकाबाट ३५ लाख सहयोग

रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
रोज नेपाल
मंगलवार, भाद्र १६ २०८३
  • काभ्रे । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउन काभ्रेको बेथानचोक गाउँपालिकाले ३५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

    गाउँपालिकाको कार्यपालिका बैठकले विपद् कोषबाट १५ लाख रुपैयाँ र गाउँपालिकाका जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीबाट सेवा सुविधा तथा पारिश्रमिकबापत २० लाख रुपैयाँ संकलन गरी कुल ३५ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो। उक्त निर्णय भदौ १५ गते बसेको कार्यपालिका बैठकले गरेको गाउँपालिकाले जनाएको छ।

    भदौ १० गते रसुवाको भोटेकोशी नदी तथा आसपासका तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको थियो। घटनाप्रति दुःख व्यक्त गर्दै बेथानचोक गाउँपालिकाले ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको गाउँपालिकाको विज्ञप्तिमा उल्लेख छ।

    बाढीबाट प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्‍याउने उद्देश्यले गाउँपालिकाले चालू आर्थिक वर्षमा स्वीकृत तीज लगायतका विभिन्न कार्यक्रमसमेत स्थगित गर्ने निर्णय गरेको छ। साथै, बेपत्ता नागरिकको खोजी तथा उद्धारमा गाउँपालिका सक्रिय रहेको जनाएको छ।

    बेथानचोक आफैं पनि पछिल्ला वर्षहरूमा विपद्को चपेटामा परेको स्थानीय तह हो। २०८१ साल असोजमा आएको बाढीका कारण गाउँपालिकाभित्र ठूलो जनधनको क्षति भएको थियो। सोही कारण बाढीपहिरोको पीडा आफूहरूले नजिकबाट अनुभूति गरेको गाउँपालिकाले जनाएको छ।

    गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले आफूहरूले चाहेजति सहयोग गर्न नसके पनि विपत्तिमा परेका नागरिकको पीडा आफूहरूको समेत पीडा भएको बताएका छन्।

    उनले २०८१ सालदेखि बेथानचोक पनि निरन्तर विपद्को सामना गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विपद्मा परेका नागरिकको दुःखमा साथ दिन कुनै कसर बाँकी राख्न नहुने बताए। हरेक विपत्तिमा प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धतासमेत उनले व्यक्त गरेका छन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij