काठमाडौं । देशभर मनसुनी गतिविधि सक्रिय रहेकाले आज पनि अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ। मौसममा सामान्यदेखि पूर्ण बदली रहने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ औसत अवस्थाभन्दा केही उत्तरमा र पूर्वतर्फ औसत स्थानकै आसपास रहेको छ। यसको प्रभावले अहिले देशका धेरैजसो क्षेत्रमा बादल लागेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थान तथा कोशी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। हिमाली क्षेत्रका केही स्थान तथा पहाडी भू–भागका धेरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुनसक्ने जनाइएको छ।
तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका केही स्थान तथा मधेश र कोशी प्रदेशका तराई क्षेत्रका थोरै ठाउँमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
आज देशका हिमाली क्षेत्रका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ।
रातिको समयमा पनि मौसममा खासै सुधार नआउने अनुमान छ। देशभर सामान्यतया बदली रहने तथा हिमाली र पहाडी क्षेत्रका केही स्थानसहित तराईका थोरै भू–भागमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।
विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।