२०८३, कार्तिक १९ गते

Nov 04 2026

त्रिशूली बाढीमा लायन्सको मानवीय अभियान : राहतसँगै नदीपारिका पीडितको उद्धारमा जोड

त्रिशूली बाढीमा लायन्सको मानवीय अभियान : राहतसँगै नदीपारिका पीडितको उद्धारमा जोड

बुधवार, भाद्र १७ २०८३
बुधवार, भाद्र १७ २०८३
  • — राजन थापा

    नुवाकोट / त्रिशूली नदी र यसका सहायक नदीमा आएको विनाशकारी बाढीले जनजीवन अस्तव्यस्त बनाएका बेला सबैभन्दा पहिलानै लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ आई, नेपालले राहत, उद्धार, स्वास्थ्य तथा जनचेतनाका कार्यक्रमलाई तीव्रता दिएको छ।

    प्रभावित क्षेत्रको आवश्यकता पहिचान गर्दै लायन्सका स्वयंसेवकहरू राहत तथा सेवामा खटिएका छन्। नुवाकोटको पिपलटारस्थित भोटेकोशी बाढी प्रभावित क्षेत्रमा लायन्स टोलीले पीडितलाई खाना खुवाउनुका साथै एक ट्रक फलफूल, खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ।

    राहत अभियानमा आईडी लायन राजन लम्साल, पूर्व आईडी लायन बालकृष्ण बुर्लाकोटी र संजय खेतान, काउन्सिल चेयरपर्सन केसर भण्डारी, एरिया लिडर शम्भु घिमिरे, मल्टिपल कोअर्डिनेटर मनबहादुर रोका, लायन हरिप्रसाद मरहठा, मल्टिपल सेक्रेटरी (डीजी) रत्न पराजुली, पीडीजी इन्दु लम्साललगायत पदाधिकारी, सदस्य तथा दाता टोली सहभागी थियो।

    लायन्स क्लब अफ काठमाडौं सामाखुसीका अध्यक्ष जागेश्वर यादव पनि राहत प्याकेजसहित प्रभावित क्षेत्रमा पुगेका थिए। बाढी प्रभावित महिला तथा बालबालिकाका लागि Former UNICEF Staff in Nepal (FUSIN) ले ५०० सेट टिसर्ट र ट्राउजर सहयोग गरेको छ। प्राप्त सामग्री यथाशीघ्र प्रभावित क्षेत्रमा पठाई वास्तविक पीडितसम्म पुर्‍याउने प्रतिबद्धता लायन्स डिष्ट्रिक्टले जनाएको छ।

    त्रिशूलीको बाढीले नदीपारिका बस्तीसमेत जोखिममा पारेकाले सुगम क्षेत्रमा मात्र नभई सडक तथा पहुँचबाट टाढा रहेका प्रभावितसम्म तत्काल राहत र उद्धार पुर्‍याउनुपर्नेमा जोड दिइएको छ। यसका लागि सुरक्षा निकाय, प्रशासन तथा सामाजिक संघसंस्थाबीच प्रभावकारी समन्वय आवश्यक रहेको लायन्सको भनाइ छ। आईडी लायन राजन लम्सालले विपद्मा सेवा औपचारिकतामा सीमित हुन नहुने बताए। “विपद्मा परेको नागरिकको पीडा हेरेर बस्ने होइन, उसको दुःखमा पुगेर हात थाम्नु नै साँचो सेवा हो। जहाँ पीडा छ, त्यहाँ लायन्सको सेवा पुग्नुपर्छ,” उनले भने।

    लायन्स डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी अनुज कुमार श्रेष्ठले विपद्मा पीडितलाई एक्लो महसुस हुन नदिन सबै पक्ष एकजुट हुनुपर्ने बताए। “जहाँ नागरिक उद्धार र सहयोगको पर्खाइमा छन्, त्यहाँ हाम्रो सेवा पुग्नुपर्छ। सुरक्षित रहनुहोस्, सतर्क रहनुहोस् र विपद्मा एकअर्काको साथ बनौँ,” उनले भने। डिष्ट्रिक्ट गभर्नर लायन सूर्य कुमार केसीले विपद्मा पदभन्दा मानवता ठूलो हुने बताए। “विपद्मा पद होइन, मानवता बोल्नुपर्छ। पीडितको आँसु पुछ्न सक्नु र दुःखमा साथ दिन सक्नु नै साँचो सेवा र नेतृत्व हो। जहाँ पीडा छ, त्यहाँ लायन्सको सेवा पुग्नुपर्छ,” उनले भने।

    बाढी–पहिरोको जोखिम कायमै रहेकाले लायन्सले नदी किनारमा नजान, जोखिमयुक्त बस्तीका परिवारलाई सुरक्षित तथा उच्च स्थानमा सार्न, अनावश्यक सडक यात्रा नगर्न तथा स्थानीय युवा क्लब, आमा समूह र टोल समितिसँग सहकार्य गरी निगरानी बढाउन आग्रह गरेको छ।

    लायन्स डिष्ट्रिक्टले राहत अभियानलाई एकपटकको कार्यक्रममै सीमित नराखी आवश्यकता पहिचान गरी निरन्तर राहत, उद्धार, स्वास्थ्य, सुरक्षित खानेपानी, सरसफाइ तथा सचेतनाका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij