काठमाडौं । अभिनेत्री दिशा पाटनीको बरेलीस्थित घरमा भएको गोलाबारी घटनाको अनुसन्धान तीव्र पारिएको छ। प्रहरीले अहिलेसम्म २५०० भन्दा बढी सीसीटीभी क्यामेराको फुटेज जाँच गरिसकेको छ, तर आक्रमणकारीहरूको पहिचान अझै खुलेको छैन।
घटनापछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुराग आर्यको नेतृत्वमा ६ वटा प्रहरी टोली गठन गरी अनुसन्धान सुरु गरिएको छ। उत्तर प्रदेशको विशेष कार्यदल (एसटीएफ) को बरेली इकाईसँगै मेरठ र लखनऊका इकाईहरूले पनि बरेली प्रहरीलाई सहयोग गरिरहेका छन्।
- योगी आदित्यनाथको आश्वासन
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले अभिनेत्री दिशाका बुबा, जो एक पूर्व प्रहरी अधिकारी पनि हुन्, जगदीश सिंह पाटनीसँग फोनमा कुरा गरेका छन्। आदित्यनाथले पाटनी परिवारलाई पूर्ण सुरक्षाको आश्वासन दिँदै भनेका छन्, ‘हामी अपराधीहरूलाई नर्कबाट पनि खोजेर निकाल्नेछौँ। पूरै राज्य तपाईँसँग छ, डराउनु पर्दैन।’ जगदीश सिंह पाटनीले मिडियासँग कुरा गर्दै मुख्यमन्त्रीसँगको कुराकानीको पुष्टि गरेका छन्।
घटना हुँदा दिशा पाटनी एक कार्यक्रममा सहभागी हुन अमेरिकामा थिइन्। उनको परिवार (बुबा, आमा, बहिनी र भाइ) बरेलीमै बस्छन्। केही समयअघि दिशाकी दिदी खुश्बु पाटनीले एक धर्मगुरुको महिला विरोधी बयानको आलोचना गरेकी थिइन्।