२०८३, कार्तिक १९ गते

Nov 04 2026

भोटेकोशी विपदमा सरकारको ढिलाइ, शाहीले संसदमै उठाए प्रश्न

भोटेकोशी विपदमा सरकारको ढिलाइ, शाहीले संसदमै उठाए प्रश्न

रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
रोज नेपाल
बुधवार, भाद्र १७ २०८३
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता तथा सांसद ज्ञानबहादुर शाहीले भोटेकोशी क्षेत्रमा आएको विपद्का क्रममा उद्धार कार्य प्रभावकारी रूपमा अघि बढ्न नसकेको आरोप लगाएका छन्।

    बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले विपद्को समयमा सङ्घीय सरकारले स्थानीय तहका संयन्त्रलाई पर्याप्त रूपमा परिचालन गर्न नसकेको दाबी गरे। स्थानीय तहसँग उपलब्ध स्रोत, साधन र जनशक्ति प्रयोग गर्न सके उद्धार अभियान थप प्रभावकारी बन्न सक्ने उनको भनाइ थियो।

    विशेषगरी सुरुङमार्गभित्र फसेका नागरिकको उद्धारमा सरकारले ढिलाइ गरेको भन्दै उनले प्रश्न उठाए। उनका अनुसार घटनापछि लामो समय बितिसकेपछि मात्रै अनुगमन र उद्धार टोली प्रभावित क्षेत्रमा पुगेको थियो।

    शाहीले उद्धारमा खटिएका केही व्यक्ति आफैँ विपद्बाट प्रभावित रहेको उल्लेख गर्दै सरकारी संयन्त्रभन्दा बाहिरका व्यक्तिको पहलमा उद्धार अघि बढेको दाबी गरे।

    उनले जनप्रतिनिधिका रूपमा सांसदहरूले विपद्बारे सरकारको ध्यानाकर्षण गराउँदै आए पनि कार्यकारी अधिकार भएका मन्त्रीहरूले त्यसअनुसार काम नगरेको आरोप लगाए। सरकारका तर्फबाट संसद्मा प्रस्तुत विवरण र प्रभावित क्षेत्रमा देखिएको अवस्थाबीच मेल नखाएको उनको दाबी थियो।

    शाहीले भौतिक स्रोतसाधन परिचालनमा समेत ढिलाइ भएको आरोप लगाए। उनका अनुसार आवश्यक भए केही घण्टामै स्काभेटर प्रभावित क्षेत्रमा पठाउन सकिने अवस्था हुँदाहुँदै पनि त्यसका लागि धेरै समय कुर्नुपरेको थियो।

    विपद्को समयमा केन्द्रमै सबै निर्णय सीमित राख्नुभन्दा स्थानीय सरकारसँग समन्वय गरी उपलब्ध जनशक्ति र उपकरण तत्काल परिचालन गर्नुपर्नेमा उनले जोड दिए। उद्धारमा हुने ढिलाइले नागरिकको ज्यान जोखिममा पार्ने भएकाले आगामी दिनमा विपद् व्यवस्थापनको प्रणालीलाई थप चुस्त बनाउनुपर्ने उनको भनाइ थियो।

    प्रतिक्रिया
    images
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to rosenepal.com Site By : Sobij