काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशीमा आएको बाढीलाई नेपालमा सीमित विपत्ति नभई विश्वव्यापी जलवायु संकटको संकेत भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले जलवायु परिवर्तनको प्रत्यक्ष असर नेपालले भोगिरहेको भन्दै विश्व समुदायले गम्भीर ध्यान दिनुपर्ने बताए। उनले नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु परिवर्तन र हिमालयमा परेको असरलाई थप प्रभावकारी रूपमा उठाउनुपर्नेमा जोड दिए।
उनले विपत्तिको समयमा सरकार हरेक नागरिकको साथमा देखिनुपर्ने र केन्द्रदेखि स्थानीय तह, सुरक्षाकर्मीदेखि सर्वसाधारणसम्म एकजुट भएर संकट सामना गर्नुपर्ने बताए।
नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान गरे पनि ठूला राष्ट्रहरूको उत्सर्जनको असर भोगिरहेको उल्लेख गर्दै प्रचण्डले ठूला तथा विकसित राष्ट्रलाई जलवायु न्यायको विषयमा गम्भीर बन्न आग्रह गरे।
उनले बाढीपीडितको उद्धारमा सुरक्षा निकायसँगै व्यापक जनपरिचालन आवश्यक रहेको बताउँदै विपत्तिको घडीमा राजनीतिक आरोप–प्रत्यारोपभन्दा सहकार्य र राष्ट्रिय एकता अपरिहार्य रहेको धारणा राखे।