काठमाडौं । रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा भइरहेको खोज तथा उद्धारका क्रममा दुई जनाको शव फेला परेको छ।
नेपाली सेनाको उद्धार टोलीले सुरुङभित्रबाट दुई वटा शव बाहिर निकालेको आयोजना व्यवस्थापनले जनाएको छ। आयोजनाका प्रबन्धक विजयमान भट्टराईका अनुसार सुरुङभित्र बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा ती शव भेटिएका हुन्।
उद्धार कार्यलाई निरन्तरता दिँदै हाइड्रो–मेकानिकल इन्जिनियरसहितको प्राविधिक टोली पनि सुरुङभित्र प्रवेश गरेको छ। प्रबन्धक भट्टराईका अनुसार टोली सुरुङको करिब १५० मिटर भित्री भागसम्म पुगेर खोजी तथा उद्धारमा जुटेको छ।
२० मेगावाट क्षमताको उक्त जलविद्युत् आयोजनामा कार्यरत ४१ जना अझै सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र आयोजनाका प्राविधिक जनशक्ति परिचालन गरिएको छ।
यसअघि बुधबार पनि उद्धार टोली सुरुङभित्र करिब १५० मिटरको दूरीसम्म पुगेर खोजी गरेको थियो। बेपत्ताको अवस्था पत्ता लगाउन बिहीबार बिहानैदेखि अभियानलाई थप तीव्र पारिएको भट्टराईले जानकारी दिए।