काठमाडौँ । रसुवामा आएको बाढीपछि प्रभावित क्षेत्रमा भइरहेको खोज तथा उद्धारलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु दर्शनाबीच मतभेद सार्वजनिक भएको छ।
शाहीले आफू प्रचार वा फोटो खिचाउनका लागि हेलिकप्टरमार्फत रसुवा नजाने अभिव्यक्ति दिएपछि सांसद दर्शनाले त्यसबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिएकी हुन्। उनले अहिले विवाद बढाउनेभन्दा उद्धार कार्यलाई प्राथमिकता दिनुपर्ने बताउँदै घटनासँग सम्बन्धित विवरण सार्वजनिक गरेकी छन्।
दर्शनाका अनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा भएको ब्रिफिङका क्रममा शाहीले सुरुङभित्र धेरै मानिस फसेको र त्यहाँबाट भागेर बाहिर आएका एक व्यक्तिले आफूलाई त्यसबारे जानकारी दिएको बताएका थिए।
त्यसपछि गृहमन्त्रीले उद्धारलाई पहिलो प्राथमिकतामा राख्दै शाही र ती व्यक्तिलाई भोलिपल्टको पहिलो हेलिकप्टर उडानबाट उद्धार टोलीसँगै प्रभावित क्षेत्रमा पठाउने प्रस्ताव गरेको दर्शनाको दाबी छ। उक्त प्रस्तावमा शाही सहमत भएको र आफूहरू त्यसको प्रत्यक्षदर्शी रहेको उनले बताएकी छन्।
दर्शनाले पावर हाउस तथा सुरुङ क्षेत्रमा अझै ठूलो संख्यामा मानिस बेपत्ता रहेको भन्दै उद्धार कार्यलाई थप व्यापक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएकी छन्।
यसअघि शाहीले गृहमन्त्रीले आफूलाई हेलिकप्टरमार्फत रसुवा जान आग्रह गरेको बताएका थिए। आफू सुरुङ उद्धारको प्राविधिक विज्ञ नभएको भन्दै केवल बाहिर उभिएर फोटो खिचाउने वा प्रचारका लागि प्रभावित क्षेत्रमा नजाने जवाफ दिएको उनको भनाइ थियो।
शाहीले आफ्नो सट्टा प्राविधिक रूपमा सक्षम, दक्ष तथा अनुभवी उद्धार टोलीलाई प्रभावित क्षेत्रमा पठाउन आग्रह गरेको बताएका थिए। विपद्को समयमा प्रचारभन्दा नागरिकको ज्यान जोगाउने क्षमता भएका जनशक्ति र स्रोतसाधन आवश्यक रहेको उनको भनाइ थियो।
उनले सुरुङभित्र जम्मा भएको हिलो अझै हटाउन नसकिएको दाबी गर्दै आफूलाई हेलिकप्टरमा लैजानुभन्दा हिलो हटाउन आवश्यक मेसिन तथा उपकरण तत्काल उपलब्ध गराउन गृहमन्त्रीसँग आग्रह गरेका थिए।
रसुवा बाढीपछि उद्धार अभियानलाई लिएर दुवै नेताबाट आएका फरक–फरक दाबीका कारण राजनीतिक वृत्तमा समेत यस विषयले चर्चा पाएको छ।